प्रधानमन्त्री भट्टराईले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन ‘भद्र समझदारी’ भएको दाबी गरिरहेका बेला विपक्षी दलद्धारा त्यसको खण्डन

काठमाडौं  – प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन ‘भद्र समझदारी’ भएको दाबी गरिरहेका बेला विपक्षी दलले भने त्यसको खण्डन गरेका छन् । कांग्रेस-एमालेका नेताले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका विषयमा छलफल नभएको बताए ।

‘उहाँलाई आफैं भइरहुँ भन्ने आकांक्षा पनि होला, यसलाई अस्वाभाविक भन्न मिल्दैन,’ सात बुँदे सहमतिमा संलग्न एमाले नेता भीम रावलले भने, ‘राष्ट्रिय सहमतिको नेतृत्व कसले गर्ने भन्ने कुनै सहमति भएको छैन ।’

कांग्रेस नेता रामशरण महतले पनि आफूहरूले शान्ति प्रक्रियालाई महत्त्व दिँदै आएको बताउँदै नयाँ नेतृत्व विषयमा अहिलेसम्म छलफल नभएको बताए । ‘प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार हुने समझदारी भयो भन्नु उहाँको दाबी हो, त्यसलाई कसैले स्वीकार गरेको छैन,’ महतले भने, ‘कुनै विन्दुमा पुगेर राष्ट्रिय सहमतिको सरकार बनाउने र कसको नेतृत्वमा गर्ने भन्ने विषयमा छलफल हुनै बाँकी छ ।’

मधेसी मोर्चासहित प्रमुख तीन दलको आइतबार बसेको गोकर्ण बैठकले सात बुँदेमा भएको सहमतिअनुसार राष्ट्रिय सरकारको खाका प्रस्तुत गर्न शीर्ष चार नेतालाई जिम्मा दिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका तर्फबाट फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारलाई जिम्मेवारी दिइएको हो । तर, गोकर्ण बैठकपछि शीर्ष नेताको बैठक बसेको छैन ।

प्रधानमन्त्रीले शान्ति र सविधानपछि मात्रै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउँदै त्यसअघि अहिलेको मन्त्रिमण्डल पुनर्गठन गरी सबैलाई समेटेर राष्ट्रिय सरकारको स्वरूप दिने बताएका थिए । तर एमाले नेता रावलले भने चार बुँदे सहमतिको  जगमा बनेको सरकारकै नेतृत्व कांग्रेस/एमालेले नस्वीकार्ने बताए ।

‘राजीनामापछि नयाँ सरकारको नयाँ नेतृत्वको बारेमा फेरि उहाँले दाबी गर्न त सक्नुहोला तर दलहरूबीच उहाँलाई नै निरन्तरता वा अरू कसको नेतृत्व भन्नेमा कुनै सहमति भएको छैन,’ रावलले भने ।

सात बुँदे सहमतिमा शान्ति प्रक्रिया र संविधान निर्माणको काम अघि बढेसँगै सहमतिको सरकार बनाउने कुरा उल्लेख भएकाले त्यो सहमतिको स्पिरिटअनुसार अघि बढ्नुपर्ने रावलले बताए । ‘सहमतिमा स्पष्ट उल्लेख भएको विषयलाई नै फरक तरिकाले व्याख्या गरियो भने,’ रावलले भने, ‘कसरी अघि बढ्न सकिन्छ र ?’