प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफू नेतृत्वको सरकारले राष्ट्रिय सरकारको स्वरुप पाउने बताइरहेका बेला उहाँकै पार्टीका सचिव सिपी गजुरेलले भने तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । गजुरेलले ६ बुँदे सहमतिमै अविलम्ब राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उल्लेख भैसकेकोले अब प्रधानमन्त्रीले राजीनामा दिन ढिलाइ गर्नै नहुने बताउनुभयो ।
अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराईले यही सरकारले राष्ट्रिय सहमतिको स्वरुप ग्रहण गर्ने वा भट्टराईले राजीनामा गरेर फेरि सरकारको नेतृत्व गर्ने संभावनालाई पनि उहाँले अस्वीकार गर्नुभयो । सरकारको सय दिनको अवधि असफल रहेको विश्लेषण गर्नुहुने सत्तारुढ दलका नेता गजुरेलले शान्ति प्रक्रियामा भएको प्रगतिका पछाडि पनि प्रधानमन्त्रीको भन्दा दलहरुको भूमिका बढी महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
शिविरमा रहेका लडाकुहरुको पारिश्रमिकबाट मासिक एक हजार रुपिया पार्टीले लिएको र ३ हजार फर्जि लडाकूको रकम बुझेको विषयमा पनि उहाँले आश्चर्य प्रकट गर्नुभयो र त्यसको हिसाव खोजिने बताउनुभयो । पार्टी माथि लागेका हरेक आरोपको जवाफ नेतृत्वले दिनुपर्ने उहाँको माग थियो ।