भारतले उधारोमा तेल दिएन देसभर इन्धनको अभाव हुने सन्केत,लुम्बिनी अञ्चलमा बिगत केही दिन देखी डिजेल ,पेट्रोलको चरम अभाव, उधोगी ,यातायात प्रभावित

भारतले उधारोमा तेल दिएन देसभर  इन्धनको अभाव हुने सन्केत,लुम्बिनी अञ्चलमा बिगत केही दिन देखी  डिजेल ,पेट्रोलको चरम अभाव, उधोगी ,यातायात  प्रभावित 
  काठमाडौं, मङ्सिर २२ . आयल निगमले उधारोमा तेल दिन गरेको आग्रहलाई भारतले अस्वीकार गरेको छ। निगमले तीन महिनालाई उधारोमा तेल दिन मागेको थियो। भारतले आफ्नै अवस्था राम्रो नभएको भन्दै उधारो दिन अस्वीकार गरेको हो।
  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र डलरको मूल्यवृद्धिले मागअनुसार तेल किन्न नसकिएको निगमका निमित्त कार्यकारी निर्देशक सुरेश अग्रवालले बताए। भारतीय आयल कर्पोरेसन (आइओसी) ले तेल आपूर्ति ४० प्रतिशत कटौती गरिसकेको छ।
आइओसी पनि मासिक करोडौँ घाटामा छ। भारतीय अधिकारीले उधारोमा तेल दिने विषयमा पेट्रोलियम मन्त्रालयसँग छलफल गर्ने आश्वासन भने दिएका छन्। भारत सरकारले तेलको कारोबार व्यावसायिक भएकाले उद्यारोमा दिन नसकिने केही वर्षअघि नै जानकारी गराइसकेको छ। उसले संविधान सभाको निर्वाचन ताकामात्र उद्यारोमा तेल दिएको थियो।
निगम अहिले मासिक १ अर्ब २६ करोड घाटामा छ। पछिल्लो मूल्यअनुसार सबैभन्दा बढी घाटा डिजलमा छ। निगमलाई एक लिटरमा १८ रुपैयाँ ९१ पैसा घाटा छ। लोडसेडिङले अहिले डिजेलको माग बढेको छ। यो सातादेखि दैनिक ६ घन्टा लोडसेडिङ भएपछि डिजेल मागअनुसार पुर्‍याउनै कठिन भएको छ।
‘डिजेलको माग धान्नै नसक्ने भइसकेको छ। मागअनुसार मासिक ६५ हजार किलोलिटर पुग्ने देखिएको छ,’ अग्रवालले भने, ‘लोडसेडिङ बढ्दै गए डिजेलको माग पुर्‍याउनै सकिँदैन।’ लोडसेडिङ हुनेबित्तिकै औद्योगिक क्षेत्रमा डिजेल प्रयोग थपिने भएकाले माग बढछ। 
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष सरोज पाण्डेले उपत्यका बाहिर तेल अभाव भइसकेको बताए। ‘उपत्यकामा अभाव कम नदेखाउन मात्र लागेको देखिन्छ। तर बाहिर समस्या देखिइसकेको छ,’ उनले भने, ‘उपत्यकामा समेत डिजेल अभाव हट्न सकेको छैन।’