स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति तत्काल घोषणा नगरे आन्दोलन गर्ने विद्यार्थीहरुको निर्णय

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति तत्काल घोषणा नगरे आन्दोलन गर्ने निर्णय १३ विद्यार्थी सङ्गठनको बैठकले गरेको छ। उनीहरुले केन्द्र र कलेजहरुमा राख्‍ने निर्णय भएको विद्यार्थी कल्याण समिति नराख्‍न पनि चेतावनी दिएका छन्।

 

कस्तो निर्वाचन गराउने भन्नेबारे प्रणालीमा विद्यार्थी सङ्गठनबीच विवाद भएपछि यसैका आधारमा त्रिभुवन विश्वविद्यालयले कलेजहरुमा स्ववियु चुनाव गराएको थिएन। ‘हामी प्रणालीबारे सहमत हुने प्रयास गर्दैछौं, तर निर्वाचनको मिति भने तय गर’- बैठकको निर्णयबारे नेविसङ्घ नेता नैनसिंह महराले भने।

विश्वविद्यालय अझै पनि यही आधारमा निर्वाचन गराउन चाहँदैन भन्दै उनले थपे- नत्र आन्दोलन गर्ने निर्णय पनि गरेका छौं। जसबारे शुक्रबार उपकूलपतिलाई ज्ञापनपत्र दिने जानकारी पनि उनले दिए।

यसैगरी कलेजहरुमा विद्यार्थी कल्याण समिति राख्‍ने निर्णय गरेर स्ववियुले गरिरहेको काम खोस्ने प्रयास भएको भन्दै त्यो निर्णय तत्काल खारेज गर्ने माग पनि राखिएको महरले जानकारी दिए। यस्तो समितिले स्ववियुको अधिकार निस्तेज पार्ने भएकाले विरोध गरिएको उनको भनाई थियो।

बैठकमा सबै विद्यार्थी सङ्गठनका प्रमुखहरु सहभागी थिए।