पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारी निर्णयबाट प्रयोग गर्दै आएको सरकारी सुविधाको गाडी फिर्ता गरेका छन् । शुक्रबार बिहान मुख्य सचिव माधवप्रसाद घिमिरेलाई टेलिफोन गरी नेपालले सरकारी सुविधाको गाडी र सुरक्षाकर्मी फिर्ता लैजान अनुरोध गरेका हुन् ।
आज काठमाडौंको गोठाटारमा मदन(आश्रति स्मृति भवनको उद्घाटन गर्न जाँदा पूर्वप्रधानमन्त्री नेपालले सुविधाको गाडी, पछुवा गाडी र सुरक्षाकर्मी समेत प्रयोग गरेका छैनन् ।
बिहीबार सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट निर्णय भई विशिष्ट व्यक्तिहरुलाई सरकारले दिँदै आएको सेवा सुविधा खारेज गर्ने निर्णय गरेको थियो । पूर्वप्रधानमन्त्रीको हैसियतमा माधवकुमार नेपालले प्रयोग गर्दै आएको सबै सरकारी सुविधा फिर्ता गर्ने निर्णय गरेपछि अन्य पूर्वप्रधानमन्त्री तथा उपप्रधानमन्त्री लगायत गृहमन्त्रीहरुलाई पनि सरकारी सेवा सुविधा फिर्ता गर्न नैतिक दवाव परेको छ ।