आज भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपाल एशियाको सबैभन्दा बढी भ्रष्ट मुलुक रहेकोमा चिन्ता



 

आज डिसेम्बर नौं, अर्थात भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि भ्रष्टाचारविरुद्धको कारवाहीमा आजैदेखि लागौं भन्ने नाराकासाथ यो दिवस मनाइदैछ । यसैक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राजधानीमा कार्यक्रम ग-यो । कार्यक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भ्रष्टाचार माथिल्लो निकायबाट सञ्चालित भएकाले यसको अन्त्यका लागि प्रधानमन्त्रीबाटै पहल हुनुपर्ने बताउनुभयो । उहाँले पैसाको बलमा राजनीतिक हस्तक्षेप र पार्टी कब्जा गर्ने प्रवृतिका कारण भ्रष्टाचार मौंलाएको जिकीर गर्नुभयो । पौडेलले भ्रष्टाचार गर्ने १ सय ८३ औ मुलुकमा नेपाल १ सय ५४ मुलुकमा पर्नु नेपाल र नेपालीको लागि लज्जास्पद् हो भन्नुभयो ।


पौडेलले नेपालमा इमान्दार र योग्य व्यक्तिको खडेरी परेको भन्दै लालचका कारण बढ्दो भ्रष्टचार नियन्त्रण गर्न प्रेस र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । संसदको राज्य व्यवस्था समितिका सभापति रामनाथ ढकालले भ्रष्टाचार संस्कृतिको रुपमा मौलाउदै गएको भन्दै राजनीतिक अस्थिरता भ्रष्टाचारको मुख्य कारण भएको बताउनुभयो । नेपाल बार एशोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्का, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष विष्णुबहादुर केसीले आफू काम नगर्ने र भ्रष्टाचार मौलायो भनेर चिन्ता व्यक्त गर्ने प्रवृतिले मात्र भ्रष्टाचार नियन्त्रण हुन नसक्ने बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाका सचिव भगवतिप्रसाद काफ्लेले संवैधानिक निकायमा पदपूर्ति हुन नसक्दा भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुन नसकेको बताउनुभयो ।


ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा नेपाल एशियाको सबैभन्दा बढी भ्रष्टाचार गर्ने देशको रुपमा उल्लेख छ । समाजको क्यान्सरका रुपमा बढेको भ्रष्टाचार नियन्त्रण गर्नेभन्दा पनि सरकारको नेतृत्व गर्ने तहबाटै यसलाई प्रोत्साहन गरिँदा भ्रष्टहरुको मनोबल बढेको छ । सरकारमा रहेका मन्त्रीहरुले नै खुलेआम घुस मागेको तथ्यहरु सार्वजनिक हुँदा पनि कार्यकारी अधिकार लिएका प्रधानमन्त्री आफ्नो सरकार ढल्ने डरमा कार्वाही गर्न नसक्ने निरीहता प्रदर्शन गर्दछन् । सरकारमा रहेका दलका नेतादेखि कार्यकर्तासम्म सरकारी ढुकुटीको अपचलनमा संलग्न रहेका खबरहरु आउँदा पनि कार्वाही नहुँदा यसविरुद्ध उठाइएका आवाज मलिन हुने र भ्रष्टहरुकै दादागिरी बढ्ने देखिँदै गएको छ । सन् २००४ देखि मेक्सिकोबाट मनाउन सुरु भएको यो दिवस नेपालमा सन् २००३ बाट मनाउन थालिएको हो ।