बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नै नसक्ने नेपाली कङ्ग्रेस सुशील कोइरालाको दाबी

– ध्रुव दङ्गाल, सुकुटे

 

सिन्धुपाल्चोक  – नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नै नसक्ने दाबी गरेका छन्। उनले शान्ति प्रक्रिया टुङ्गेलगत्तै बन्ने यस्तो सरकारको नेतृत्व कङ्ग्रेसले नै गर्ने दाबीसमेत गरे।

 

त्यो सरकारको नेतृत्व उपसभापति रामचन्द्र पौडेलले गर्ने पनि उनले स्पष्ट पारे। विधानअनुसार संसदीय दलको नेता प्रधान मन्त्री हुने व्यवस्था भएको र संसदीय दलको नेता पौडेल भएकाले उनी नै प्रधान मन्त्री हुने कोइरालाको भनाई थियो।

शेरबहादुरजीले पनि दाबी गर्नुभएको छ भन्दै उनले थपे- त्यसबारे छलफल हुन बाँकी छ। उनले प्रजातान्त्रिक पार्टी कङ्ग्रेसमा आफूले सिष्टम बसाल्न खोजेकाले विवाद उत्पन्न भएको तर्क पनि गरे।

माओवादीले समायोजन हुने लडाकुको सङ्ख्या बढाउन खोजेकामा त्यो सम्भव नभएको भनाई पनि उनले राखे। ‘वास्तवमा सङ्ख्या ६ हजार भनिएको हो, माओवादीले बढाएर ६५ सय पुर्‍यायो’, उनले थपे- अब त्यसबाट पनि बढाउन सम्भव छैन। सात बुँदैबाट एकरत्ति पनि ढलमल हुँदैन।

रामेछाप जान लागेका नेता कोइरालाले प्रेस युनियनद्वारा आयोजित छोटो पत्रकार भेटघाटमा भने- चितवन कारागारमा भएको घटनामा तरुण नेतामाथि हत्याको षडयन्त्र भएको छ। जसमा सुरक्षाकर्मीको समेत मिलेमतो छ।