
शनिबार बिहान पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी सुविधामा प्रयोग गर्दै आएका गाडी सरकारलाई फिर्ता गरेका छन् । उनी चढ्दै आएको चमेलिया जलविद्युत् आयोजनाको १०२९ नम्बरको प्राडो जिप फिर्ता गरेका हुन् ।
दाहालका स्वकीय सचिव समीर दाहालका अनुसार प्रधानमन्त्री कार्यालयका सचिव लिलामणि पौडेललाई उक्त जिप बुझाइएको छ । उपसमितिको बैठकमा भाग लिन दाहाल स्कोर्पियो जिप चढेर गएका थिए ।
सरकारी सुविधाअनुसार सवैभन्दा बढी गाडी र सुरक्षाकर्मी दाहालले नै लिएका थिए । उनले पछुवा गाडी र सुरक्षाकर्मी भने फिर्ता गरेनन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि मुख्य सचिव माधव घिमिरेलाई फोन गरी गाडी फिर्ताको व्यवस्था गर्न आग्रह गरेका छन् । उनका सहयोगी सूर्य थापाका अनुसार सरकारले शनिबार फिर्ता नपठाए आइतबार पार्टी कार्यालयबाटै गाडी फिर्ता गराउने योजनामा खनाल छन् ।
पूर्वप्रधानमन्त्रीत्रय माधवकुमार नेपाल, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर विष्टले शुक्रबार नै सुविधाका गाडी र सवारी फिर्ता गरेका थिए ।
सर्वोच्चको आदेशअनुसार पूर्व गृहमन्त्रीद्वय बामदेव गौतम र भीम रावलले पनि सुविधाका सवारी र सुरक्षाकर्मी फिर्ता पठाएका छन् ।
एमाले उपाध्यक्षसमेत रहेका गौतमले सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्दै सरकारी सुविधा फिर्ता गरेको बताए । ‘शुक्रबार गृह मन्त्रालयसँग समन्वय हुन नसकेकोले सकिएन शनिबार बिदा भएपनि गृहसँग समन्वय गरेर सवारी साधन र अन्य सुविधा फिर्ता गरेँ,’ गौतमले भने ।
उनले बा.१.झ ५५२१ नम्बरको कार, मासिक २ सय लिटर डिजेल,१४ जना सशस्त्र प्रहरी सहितको पछुवा गाडी, नेपाल प्रहरीका ३ जना र सवारी चालक १ जनाको सुविधा पाएका छन् ।
यस्तै पूर्वगृहमन्त्री भीम रावलले नेपाल सरकार (मन्त्रिपरिषद्)को निर्णयबाट आफूलाई दिइएको सरकारी सुविधाको गाडी र सुरक्षाकर्मी फिर्ता गरेका छन् ।
शनिबार विहान नेपाल सरकारका मुख्य सचिव माधवप्रसाद घिमिरेलाई टेलिफोन गरी उनले आफूलाई उपलब्ध गराइएको सुविधाको गाडी र सुरक्षाकर्मी फिर्ता लैजान अनुरोध गरेका छन् । रावलले आजै बाट सरकारी गाडी चढ्न छोडेका छन् ।
पछुवा गाडी र सुरक्षाकर्मी पनि प्रयोग गरेका छैनन् ।



