– गजेन्द्र बोहरा
दाङ – नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले अबको सरकारको नेतृत्व आफ्नै नेतृत्वमा बन्ने दावी छन्। सभापति सुशील कोइरालाले संसदीय दलका नेता रामचन्द्र पौडेलको नेतृत्वमा सहमतीय सरकार बन्ने बताइरहेकै बेला देउवाले यस्तो दावी गरेका हुन्।
नेपाल प्रेस युनियन दाङले शनिवार बेलुका दाङको तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले भने ‘राष्ट्रिय सहमतिको सरकार मेरै नेतृत्वमा हुन्छ, यसमा दुइमत छैन।’ उनले पार्टीको केन्द्रिय समितिले नै आफूलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको जिकिर समेत गरे। ‘केन्द्रीय समितिले नै मलाई प्रधानमन्त्री बनाउने म्यान्डेड दिएको छ’ उनले भने ‘अरु कसैलाई बनाउँछ भने मलाई भन्नु केही छैन।’ उनले सभापति कोइरालाको भनाई केन्द्रीय समितिको निर्णय विपरित भएको पनि बताए। उनले आफ्नो नेतृत्वमा सहमतिय सरकार बन्नासाथ देशमा शान्ति र संविधानले टुङ्गो पाउने दावी पनि गरे।
नेपाली कांग्रेस दाङको क्षेत्र नं. ४ले आयोजना गरेको क्षेत्रीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका देउवाले शनिवार साँझ पत्रकारहरुसँग घरजग्गा फिर्ता गर्नका लागि अब प्रहरी प्रशासनलाई लगाइने बताए। ‘सहमति गर्ने तर कार्यान्वयन नगर्ने संस्कार अब अन्त्य हुनुपर्छ’ उनले भने ‘अब प्रहरी प्रशासनको सहयोगमा भएपनि घरजग्गा फिर्ता हुन्छ।’ उनले अब प्रशासनको सहयोग लिनेगरी पार्टीले पहल गरिरहेको पनि बताए।
त्यस्तै उनले माओवादीले फर्जी लडाकुहरुको भत्तारकम लिएर भ्रष्टाचार गरेको आरोप पनि लगाए।’त्यो माओवादीले गरेको भ्रष्टाचार नै हो, त्यसरी राज्यको ढुकुटी रित्याउनेगरी भ्रष्टाचार गर्नुहुन्न’ उनले भने।