एकिकृत माओवादीभित्र चर्कंदै गएको विवाद समाधानको उपाय खोज्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज उपाध्यक्ष मोहन बैद्य पक्षका नेताहरुसँग छलफल गर्नुभएको छ । हिजो प्रधानमन्त्री निवास बालुटारमा भएको संस्थापन पक्षको भेलाले सहमतिको लागि पहल गर्न आग्रह गरेपछि आज प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितले बैद्य पक्षका सचिव सिपी गजुरेल र देव गुरुङसँग छलफल गर्नुभएको हो ।
संसदीय दलको कार्यालय सिंहदरबारमा भएको पार्टी विवाद मिलाउने बारेको छलफल निष्कर्षमा पुगेन । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले पार्टी विवाद सार्वजनिक रुपमा नउचाल्न भन्दै वैद्य पक्षलाई अब राष्ट्रिय सरकार बनाउने विषयमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर वैद्य पक्षका नेताहरुले भने भट्टराईको नेतृत्वमा राष्ट्रिय सरकार गठन सम्भव नभएको बताएको स्रोतको दाबी छ ।हिजो मात्र महासचिव रामबहादुर थापाले पार्टीमा आधारभुत कुरामा नै कुरा मिल्न छाडेको भन्दै पार्टी फुटको संघारमा पुगेको र पार्टी फुट्दा अब दुई तीन टुक्रा हुने बताउनुभएको थियो ।



