यमनको दक्षिणी शहर एडेनमा १२ जना अल कायदा लडाकु केन्द्रीय कारागारबाट भागे

यमनको दक्षिणी शहर एडेनमा १२ जना अल कायदा लडाकु केन्द्रीय कारागारबाट भागेका छन् । कारागारमा ६ मिटर लामो सुरङ खनेर उनीहरुसंग अरु दुई कैदी पनि भागेको अधिकारीहरुले पुष्टि गरेका छन् । भागेका लडाकुहरुमाथि सुरक्षाकर्मीको हत्या र बैंक लुट्न प्रयास गरेको अभियोग लगाइएको थियो । गत जुनमा पनि यमनको दक्षिणी शहरमा रहेको कारागारमा अल कायदाका लडाकुहरुले आक्रमण गरी आफ्ना धेरै साथी भगाएका थिए ।


यमनका विभिन्न भागमा यमनी सेना र अल कायदाका लडाकुहरुबीच भीषण संघर्ष भइरहेको छ । अब्यान प्रान्तको जिन्जिवर शहर अल कायदाको बलिया पकड क्षेत्र मानिन्छ । संयुक्त राष्ट्रसंघले अल कायदाका लडाकुको पकड क्षेत्रहरुबाट असुरक्षाका कारण करिब ४५ हजार मानिस विस्थापित भएको जनाइएको छ । यमनमा विगत केही महिना यता राष्ट्रपति अली अब्दुल्लाह सालेहको शासन विरुद्ध भइरहेको प्रदर्शनका कारण पनि राजनीतिक वातावरण अशान्त छ ।