चिनियाँ प्रधानमन्त्री वेनको नेपाल भ्रमण स्थगित

काठमाडौं, २७ मंसिर  चिनियाँ प्रधानमन्त्री वेन जियावाओको बहुप्रतिक्षित नेपाल भ्रमण स्थगित भएको छ । चीनको आन्तरिक कारण भ्रमण स्थगित गरिएको बताइएको छ । चिनियाँ प्रधानमन्त्रीले आगामी पुस ५ गतेदेखि ७ गतेसम्म सय भन्दा बढी प्रतिनिधिमण्डलको नेतृत्वसँगै नेपाल भ्रमण गर्ने कार्यक्रम थियो ।
 
चिनियाँ प्रधानमन्त्रीको भ्रमणका लागि नेपालले आन्तरिक तयारी सुरु गरिसकेको अवस्थामा चिनियाँ पक्षले भ्रमण स्थगित गरेको औपचारिक जानकारी भने दिएको छैन । भ्रमणका क्रममा नेपाल र चीनबीच केही महत्वपूर्ण आर्थिक प्याकेजमा सम्झौता हुने कार्यक्रम थियो । भ्रमणको तयारीका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङ पुगेका थिए । यसअघि दुई देशबीच सहमति नभई प्रधानमन्त्री वेनको भ्रमणको मिति सार्वजनिक गरेको भन्दै चिनियाँ पक्षले असन्तुष्टिसमेत जनाएको थियो ।