केहि दिन भित्रै माओवादी औपचारिक विभाजन हुने, आफ्नो पक्षको नेतृत्व मोहन बैद्यले गर्ने सीपी गजुरेलको दाबी

– राजकुमार कार्की

 

सिन्धुली – एकीकृत माओवादीका सचिव सीपी गजुरेलले पार्टी पुट्ने औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको बताएका छन् । उनले पार्टी फुटेमा आफ्नो पक्षको नेतृत्व मोहन बैद्य ‘किरण’ले गर्ने जनाए ।

क्रान्तिकारी पत्रकार संघको आयोजनामा सिन्धुृलीमाढीमा मंगलबार बिहान भएको पत्रकार भेटघाटमा गजुरेलले पार्टीको औपचारिक फुटको घोषणा हुन बाँकी रहेको त्यो अब धेरै समय पर नजाने ठाकेुवा गरे ।

केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराइले असक्षमता प्रकट गरि क्षमायाचना मागेमा भने पार्टी नफुट्ने झिनो आशा बाँकी रहेको उनको कथन छ । पार्टी भित्र अहिले बालुवाटारे समूह र त्यसको विरोध गर्ने आफ्नो विद्रोही समुह गरेर दुइ पक्ष देखिएपनि फुटको शुरुवात पश्चात माओवादी चार टुक्रा हुने उनले दावी गरे ।

आफ्नो पक्षले पार्टीको निर्णय लागु गरेको तर अध्यक्ष प्रचण्ड र उपाध्यक्ष भट्टराइले उल्लघंन गर्दै हिडेकाले जबसम्म रोकिदैंन तबसम्म नेतृत्वको आलोचना गरिरहने उनले बताए । दुइवटै लाइनले आफ्नो निर्णय लागु गराउँदै हिडेकाले एउटा पार्टीको दुईवटा निर्णय लामो समयसम्म नटिक्ने उनको भनाइ थियो ।