आमहड्तालले पूर्वको जनजीवन कष्टकर

– रोहित राई, नागरिक

 

धरान – सञ्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद्को आह्वानमा तीन दिनदेखि जारी आमहड्तालले पूर्वको जनजीवन कष्टकर बन्दै गएको छ।

राज्य पुनर्संरचना आयोगमा संगठनको प्रतिनिधि समावेश गराउनु पर्ने माग गदै परिषद्ले आइतबारदेखि अनिश्चितकालीन आमहड्ताल आह्वान गरेकोले अरुणपूर्वका नौ जिल्लाको जनजीवन कष्टकर बन्दै गएको हो। तीन दिनयता सुनसरी, मोरंग, धनकुटा, झापा, तेह्रथुमलगायतका जिल्लाहरुमा लामो तथा छोटो दुरीका कुनै पनि सार्वजनिक सवारीसाधानहरु चलेका छैनन् भने भने बजार, उद्योग, शैक्षिक संस्थाहरु पनि ठप्प छन्।



इटहरीबाट नागरिकन्युजकर्मी अमर खड्काका अनुसार बन्दका कारण बढी पूर्वी पहाडी जिल्ला धनकुटा, संखुवासभा, तेह्रथुम, इलाम, पाँचथर र ताप्लेजुङको जनजीवन बढी प्रभावीत भएको छ। सुनसरीको इनरुवा, दुहबी लगायतका स्थानमा सवारी साधन चलेका छन्। उत्तरी मोरङमा भने सवारी साधन चलेका छैनन्। विराटनगरमा सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा रहेका छन्। त्यहाँ शैक्षिक संस्था, बजार-पसल समेत खुल्ला छ।


झापामा पनि बन्दको पूर्ण प्रभाव परेको छ।


लगातारको बन्दले गर्दा दैनिक उपभोग्य सामान समेत अभाव हुन थालेको छ। तराईबाट पहाडी जिल्लामा जाने र पहाडी जिल्लाबाट तराईका जिल्लामा आउने सयौँ सर्वसाधारण पनि अलपत्र परेका छन्।


बन्दले दैनिक करोडौं रुपियाँको नोक्सानी भइरहेको यातायात व्यावसायी एवं उद्योगी, व्यापारीहरुको गुनासो छ।


सरकारले परिषद्को माग सम्बोधन गर्नेबारे कुनै चासो नदिएपछि परिषद्ले आन्दोलन अझै कडा बनाउने बताएको छ।