
वैद्य पक्षका नेताहरुले पार्टी फुटको घोषणा हुन मात्र बाँकी रहेको अभिव्यक्ति दिन थालेपछि एकीकृत माओवादीका शीर्ष नेताहरुले आज यसबारेमा छलफल गरेका छन् ।
विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष मोहन बैद्य र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेताहरुबीच आज विहान छलफल भएको हो । हिजो मात्र सचिव सीपी गजुरेलले पार्टी फुटको घोषणा हुन मात्र बाँकी रहेको अभिव्यक्ति दिनुभएको थियो । अध्यक्ष प्रचण्डले गजुरेलको अभिव्यक्तिप्रति वैद्यसँग धारणा माग्दै गजुरेललाई सम्झाउन आग्रह गर्नुभएको बताइएको छ । वैद्यले भने गजुरेलको अभिव्यक्तिप्रति आफुलाई जानकारी नभएको जवाफ दिनुभएको थियो । गजुरेलले पार्टी फुट्ने औपचारिक घोषणा हुन बाँकी रहेको र फुटेपछि उपाध्यक्ष वैद्यले समूहको नेतृत्व गर्ने दावी गर्नुभएको थियो ।
प्रचण्डले उपाध्यक्ष वैद्यलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएर भएपनि विवाद मिलाउने कसरत थाल्नुभएको बताइन्छ । अध्यक्षसँग अति नै रुष्टता पोख्दै देश दौडाहामा रहेका महासचिब रामबहादुर थापालाई पनि मिलाउनकालागि प्रयास भैरहेको छ । वैद्य पक्षले भने महासचिव थापालाई प्रधानमन्त्री बनाउन प्रचण्डमाथि निकै नै दबाब बढाएका छन् । उपाध्यक्ष बैद्यले पार्टीभित्रको विवाद सडकसम्मै छताछुल्ल पारेपछि प्रचण्ड र भट्टराई पक्ष गम्भीर बनेका हुन् ।