सरकार छाड्नु पर्ने आवाज उठेपछि मधेशी मोर्चा सम्वद्ध दलहरुले चार बूँदे कार्यान्वयनको समीक्षा शुरु

सरकार निर्माणका क्रममा भएको चार बूँदे सहमति कार्यान्वयन नभएको भन्दै मधेशी दलहरुले सरकार छाड्नु पर्ने आवाज उठेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्वद्ध दलहरुले चार बूँदे कार्यान्वयनको समीक्षा शुरु गरेका छन् ।

मोर्चाको आज बसेको बैठकमा चार बुंदे सहमति कार्यान्वयनको अवस्था, सरकारमा मोर्चा सहभागी भएपछि राष्ट्रिय राजनीतिमा परेको प्रभाव, मधेशी जनताको पक्षमा गरिएको काम लगायतका विषयमा छलफल शुरु भएको हो । यस्तै शान्ति प्रक्रिया र संविधानका विवादित बूँदामा पनि मोर्चाको साझा धारणा बनाउन छलफल थलिएको उपप्रधानमन्त्री विजयकुमार गच्छादारले जानकारी दिनुभयो ।

बैठकमा मधेशी जनअधिकार फोरम गणतान्त्रिक र सद्भावना पार्टीका नेताहरुले भने गृह, रक्षा, कानुन र भौतिक योजना तथा निमार्ण जस्ता महत्वपूर्ण मन्त्रालय मधेशी दलका भागमा परे पनि ती मन्त्रालयबाट सहमति कार्यान्वयनका लागि कुनै पहल नभएको भन्दै आलोचना गरेका थिए । मोर्चाले दुई दिन अघि मात्रै चार बुंदे सहमति कार्यन्वयन नभएको भन्दै प्रधानमन्त्री तथा माओवादी नेतृत्वलाई सरकार छाड्ने धम्की दिएको थियो ।