काठमाडौ – राजधानी काठमाडौंको तापक्रम ह्वात्तै घटेर २ दशमलव ५ डिग्रिसेल्सियसमा झरेको छ । बुधबार रेकर्ड भएको न्यूनतम तापक्रम यो वर्षकै सबभन्दा कम भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले बताए । अधिकतम तापक्रमसमेत १७ डिगि्रसेल्सियसमा झरेको छ । बिहीबारदेखि अझै एक/दुई डिग्रीका दरले तापक्रम घट्न सक्ने उनले जनाए ।
राजधानीसहित देशका विभिन्न भागमा केही दिनयता चिसो बढेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा रेकर्ड भएको छ । जुम्लामा बुधबार माइनस ६ दशमलव ५ तापक्रम रेकर्ड भएको छ । त्यस्तै, जिरी र जोमसोमको तापक्रमसमेत माइनसमा झरेको छ ।
जिरीमा माइनस १ दशमलव २ र जोमसोममा माइनस ३ दशमलव ४ डिग्रिसेल्सियस तापक्रम रेकर्ड भएको श्रेष्ठले बताए । राजधानी, जुम्ला, जोमसोम, पोखरा, डडेलधुरा, ताप्लेजुङलगायतका स्थानमा समेत कम तापक्रम रेकर्ड भएको छ ।



