काठमाडौं – सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत राधेश पन्तलाई मासिक तलबभत्ताबापत २ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुलुकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी बढाउन गठित बोर्डको प्रमुखको तलबभत्ता मासिक साढे दुई लाख तय गरेको जानकारी स्रोतले दिए ।
बैंक अफ काठमाडौं र कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा पन्तले मासिक १० लाख रुपैयाँसम्म तलबभत्ता लिएका थिए । सरकारले विद्युत् प्राधिकरणमा खुला प्रतिस्पर्धाबाट छनोट भएका तत्कालीन कार्यकारी निर्देशक दीपेन्द्रनाथ शर्मालाई समेत मासिक तलबभत्ता २ लाख रुपैयाँ दिएको थियो ।
पन्त खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत छनोट भएका हुन् । उनले सोमबारदेखि कार्यभार सम्हालेका छन् । बाहिर कार्यालय भवन नपाइन्जेलका लागि पन्तलाई अस्थायी रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयमा कार्यालय दिइएको छ ।
– कान्तिपुर