थाक्सिन सिनाबात्रा नेपालमा

– खिम घले

 

काठमाडौ – थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनाबात्रा नेपाल आएका छन् । म्यानमारबाट चार्टर फ्लाइटमा आएका सिनाबात्रा त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रबार दिउँसो साँढे चार बजे उत्रिएका थिए । उनी आएको सम्बन्धमा जानकारी दिइएको छैन ।

उनलाई नेपालस्थित थाई राजदूतको पाहुनाको रुपमा जानकारी गराईएको छ । थाई राजदूत उनलाई भेट्न त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका थिए ।

विमानस्थल स्रोतका अनुसार अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिक विमानास्थल गएका उनी काठमाडौं सहर नपसिकनै यति यएरलाइन्सको जहाज चढेर भैरहवा पुगेका हुन् । उनी लुम्बिनीमा पुजाको लागि आएको बताइएको छ । भैरहवामा होटल कासाइमा बसेका छन् ।

विमानस्थल स्रोतका अनुसार उनले चार्टर गरेर ल्याएको विमान शनिबार साँझ फर्कने छ ।

उनी सन् २००१ देखि २००६ सम्म थाइलेण्डका प्रधानमन्त्री थिए । थाइ सेनाले कु गरेर हटाएपछि सिनाबात्राको बिरुद्धमा करोडौं डलर भ्रष्टाचारको अभियोग लगाइएको छ । उक्त भ्रष्टाचार काण्डमा जेल भुक्तान गर्नुपर्ने हुँदा उनी निर्वासमा बस्दै आएका छन् ।

थाइलेण्डका धनी मध्येका एक, ठूला ब्यापारिक घरानाका सिनावात्रा प्रधानमन्त्रीबाट हटाइएपछि कम्बोडिया बस्दै आएका थिए । पछिल्लो समय उनी म्यान्मारमा थिए ।

पछिल्लो निर्वाचनमा उनकी बहिनी यङ्लुक सिनाबात्राले निर्वाचन जितेकी छन् । निर्वासनमा रहेपनि सिनाबात्राको आझै थाइ राजनीतिमा बलियो पकड रहेको बहिनीको जीतले पनि देखाएको छ ।


सन् २००८ मा थाइल्याण्डको परराष्ट्र मन्त्रालयले रद्द गरेको पासपोर्ट यसै बर्षको अक्टोवरमा मात्र पुनर्वहाली गरिएको थियो ।