माओवादीमा मोहन बैद्य पक्षसंग चर्को अन्तरबिरोध भइरहेको बेला पुष्पकमल दाहालले नारायणकाजी श्रेष्ठ समूहलाई तान्ने कसरतमा

काठमाडौं – माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष एबं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समूहसँग आगामी राजनीतिक कार्यदिशाबारे छुट्टै छलफल गरेका छन् । प्रधानमन्त्री बाबुराम भट्टराई पक्षलाई नबोलाइएको छलफलमा दाहालले शान्ति र संविधानको कार्यदिशालाई सफल बनाउनेबारे सुझाब मागेका थिए ।

बिहीबार पनि दाहाल श्रेष्ठको मन्त्री निवास पुल्चोक गएर उक्त समूहलाई शान्ति र संविधानको कार्यदिशालाई प्रभावकारी बनाउने निर्देशन दिंदै ‘दायाँबायाँ’ नगर्न आग्रह गरेका थिए । साउनमा धोबिघाट मोर्चामा सहभागी भएको श्रेष्ठ समूहलाई आफ्नो पक्षमा तान्न दाहालले पछिल्लो पटक कसरत सुरु गरेका हुन् । पूर्व एकता केन्द्र मसाल समूह श्रेष्ठको नेतृत्वमा माओवादीसँग एकता गरेका थियो ।

श्रेष्ठ समूहसँग करिब एक दर्जन केन्द्रीय सदस्य भएकाले दाहाल आफै उनको निवासमा गए छलफल सुरु गरेका हुन् । पार्टीमा बहुमत/अल्पमत हुने अवस्था भए श्रेष्ठ समूहको मतले ठूलो अर्थ राख्छ । शुक्रबार उनले आफू निकट नेताहरु कृष्णबहादुर महरा, बर्षमान पुन, जनार्दन शर्मालगायतका नेताका साथमा श्रेष्ठ समूहसंग एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका थिए । भारतसंग बिप्पा सम्झौता गरेपछि प्रधानमन्त्री भट्टराई र उप तथा परराष्ट्रमन्त्री श्रेष्ठसंग दुरी बढेको थियो । यही मेसोमा दाहालले श्रेष्ठ समूहलाई बिश्वस्त पार्ने कसरत थालेका हुन् ।

उपाध्यक्ष मोहन बैद्य पक्षसंग चर्को अन्तरबिरोध भइरहेको बेला दाहालले सबै समूहसंग छलफल थालेका हुन् । ‘आगामी शान्ति र संविधानको कार्ययोजना बनाउन अध्यक्षले समूह समूहमा छलफल सुरु गर्नु भएको हो’ छलफलमा सहभागी पोलिटव्युरो सदस्य जनार्दन शर्माले भने- ‘छलफल आगामी केन्द्रीय समिति बैठकका एजेन्डाबारे केन्दि्रत थियो ।’ छलफल दाहाल निवास नयाबजारमा भएको थियो ।

श्रेष्ठ निकट पोलिटव्युरो सदस्य बिश्वनाथ साहले केन्द्रीय समिति बैठकले लिने कार्ययोजनाबारे कुराकानी भएको जनाए । ‘अन्तरबिरोध समाधान गर्न व्यवस्थित ढंगले गर्ने कुराकानी भयो’ उनले भने- ‘त्यसका लागि आवश्यक तयारी गर्ने कुरा भएको छ ।’ उनले सरकार संचालनमा कमजोरी देखिएको महसुस भएको समेत जनाए । ‘सरकार अझै प्रभावकारी ढंगले संचालन गनुपर्ने महसुस भयो’ उनको भनाइ थियो- ‘सरकार आआफ्नो ढंगले संचालन भएको छ, यसमा अझै सुधारको आवश्यकता छ ।’

भट्टराईको सरकार संचालन कार्यशैलीप्रति श्रेष्ठ समूहले दाहालसंग गुनासो गरेका श्रोतको भनाइ छ । धोबिघाट मोर्चापछि दाहाल र श्रेष्ठबीच दुरी बढेको थियो । उप तथा पराराष्ट्रमन्त्री भएपछि मध्यमार्गी नेताका रुपमा रहेका श्रेष्ठसंगको दाहालको बाक्लो कुराकानीले अब उनी दाहालनिकट हुने संभावना बढेको छ । दाहालसँग दूरी बढ्दा श्रेष्ठको पार्टीमा प्रभाब घट्दै गएकाले उनको बिश्वास लिन श्रेष्ठ अग्रसर भएको नयाँबजार श्रोतले जनाएको छ । कुनै बेला सबै महत्वपूर्ण बैठकमा श्रेष्ठलाई लिएर दाहाल जान्थे । तर धोबिघाट मोर्चामा आफूबिरुद्ध उत्रिएपछि दाहालले श्रेष्ठलाई कम बिश्वास गर्न थालेका थिए । श्रेष्ठसँगको पछिल्लो भेटघाट अविश्वास हटाउन केन्दि्रत रहेको र बैद्य पक्षसंगको अन्तरसंघर्षमा संस्थापन पक्षलाई अझै बलियो बनाउन दाहालले नयाँ थालनी गरेका हुन् ।

दाहालले अन्तरसंघर्ष समाधानका लागि आफूलाई सहयोग गर्न आग्रह समेत गरेका थिए । ‘केन्द्रीय समिति बैठक र पार्टीमा देखिएको अन्तरसंघर्ष समाधान गर्न सबैले सहयोग गर्ने पर्ने कुरा उठे’ साहले भनाइ थियो ।

छलफलमा स्थायी समिति सदस्य अमिक शेरचन र लीलामणि पोख्रेल भने थिएनन् । शुक्रबार भएको छलफलमा दाहाल, स्थायी समिति सदस्य बर्षमान पुन, पोलिटव्युरो सदस्यहरु जनार्दन शर्मा, शक्ति बस्नेतका साथै श्रेष्ठ, पोलिटव्युरो सदस्यहरु बिश्वनाथ साह, बिश्वभक्त दुलाललगायका नेता सहभागी थिए ।

दाहाल र प्रधानमन्त्री भट्टराईबीच बिशेष गरी शान्ति र संविधानका साथै सरकार सञ्चालनका बिषयमा एकमत छ । दाहालकै सुझाबमा भट्टराईले महत्वपूर्ण निर्णय गर्दै आएका छन् । कान्तिपुर