सरकारद्धारा तरुण दल चितवनका अध्यक्षको हत्याबारे छानबिन गर्न न्यायिक आयोग गठन र १० लाख क्षतिपूर्ति दिदै बन्द फिर्ता लिन आहृवान

काठमाडौं – सरकारले तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको हत्याबारे छानबिन गर्न न्यायिक आयोग गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश मोहन सिटौलाको संयोजकत्वमा डीआईजी विज्ञानराज शर्मा र सह न्यायाधीवक्ता कृष्णप्रसाद पौडेल सदस्य रहेको आयोग गठन गरेको हो ।

सरकारले पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले कांग्रेसलाई सोमबारका लागि आहृवान गरिएको नेपाल बन्द फिर्ता लिन आग्रह गरेको छ ।

कांग्रेसले पौडेल, प्रमिश राईलगायतमाथिको झुटा मुद्धा फिर्ता, सहिद घोषणा, उचित क्षतिपूर्ति, न्यायिक आयोग र दोषिमाथि कारबाहीको माग गर्दै आएको छ । उसले हत्याविरुद्ध सोमबार नेपाल बन्द आहृवान गरेको छ ।

यसअघि उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले परिवारको मागलाई सरकारले सम्वोधन गर्ने बताएका थिए । उनले यसबारे अपरान्ह प्रधानमन्त्री बाबुराम भट्टराईसँग छलफल गरेका थिए । ‘कांग्रेस र परिवारको न्यायोचित् मागलाई सरकारले सम्वोधन गर्छ,’ उनको भनाइ थियो ।