पुस ३ शनिबार बिहान महानगरीय प्रहरी ट्राफिक महाशाखाको प्रशिक्षण हल भरिभराउ थियो । रातभर प्रहरी हिरासतमा बसेका कसमा उत्साह देखिँदैन । कक्षामा ह्वास्स मदिराको गन्ध आउँछ । मदिरा सेवन गरेर सवारी चलाएको कसुरमा हिरासत परेका ५५ जनालाई त्यसका बेफाइदाबारे ट्राफिक प्रहरी पढाइरहेको छ ।
ट्राफिक प्रहरीका अनुसार पछिल्लो दुई सातामा मादक पदार्थ सेवन गरी सवारी चलाउने सात सयभन्दा बढीले हिरासतपछि यस्तो कक्षा लिइसकेका छन् । त्यसमा कतिपय डाक्टर, इन्जिनियर, बैंकर, निजामती र सैनिक अधिकृतसमेत छन् । मदिरा सेवन गरेर सवारी चलाउन कानुनले निषेध गरेको महानगरीय प्रहरी आयुक्त कुवेरसिंह रानाले बताए । ुअहिले कानुन कार्यान्वयन गरिएको मात्र हो,ु उनले भने । राजधानीमा सवारी दुर्घटना डरलाग्दो गरी बढेपछि कडाइ गर्न थालेको उनले बताए । उनका अनुसार मादक पदार्थ सेवनका कारण सावधानीसँगै सवारी चलाउनेको ज्यान पनि खतरामा परेको छ ।
व्यक्तिको सुरक्षाका लागि यस्तो अभियान सुरु गरेको कुवेरले बताए । उनले भने, ुमादक पदार्थ सेवन नगरेको चालक छ भने अरूले खाए भयो । आफैंले सवारी चलाउने भए नखानु राम्रो । हामीले संस्कार सुरु गर्न खोजेका हौं ।ु उपत्यकामा मंसिर १७ देखि मदिरा सेवन गरी सवारी चलाउनेविरुद्ध अभियान सुरु गरिएको हो । महाशाखाका डिआइजी गणेशराज राईका अनुसार विवाहको लगन सुरु हुनासाथ दुर्घटना ह्वात्तै बढेकाले कडाइ थालिएको हो ।
राति सडकमा सवारीको चाप घट्नासाथ प्रहरी चेकजाँच गर्न निस्कने गरेका छन् । यस क्रममा प्रहरीले सवारी चालकको मुख सँुघ्छन् । गन्ध आउनासाथ तिनलाई नियन्त्रणमा लिएर मदिरा सेवन प्रमाणित गर्न अस्पताल लैजाने गरिएको छ । डाक्टरले मदिरा सेवन प्रमाणित गरेपछि प्रहरी कार्यालयमा लगेर थुनिन्छ । भोलिपल्ट उपत्यकाभरि पक्राउ परेकालाई महाशाखामा एकत्रित गरी एक घन्टाको कक्षा सञ्चालन गर्ने गरिएको छ ।
छुटाउनका लागि उच्च पदस्थ, साथीभाइबाट आउने दबाबबाट बच्न प्रहरीले मापसेको मोबाइल तत्काल नियन्त्रणमा लिएर अफ गर्छ । ुतैपनि सुरुसुरुमा दबाबरअनुरोध नआएको होइन,ु राईले भने, ुतर हामीले छाडेका छैनौं ।ु रात परेपछि एकचोटि सोचेर मात्र कल रिसिभ गर्ने गरेको आयुक्त राना बताउँछन् । पक्राउ परेपछि फुर्तिफार्ती देखाउने मापसे भोलिपल्ट बिहान सुस्त देखिने गरेको प्रहरीको अनुभव छ । राईका अनुसार नागरिक उड्डयन प्राधिकरणका एक उपसचिवले मदिरा खाएकै थिइनँ भनेर निकै हल्लाखल्ला गरे । तर पछि ती शान्त भई गल्ती स्विकारेर घर फर्किएका थिए ।
दुई सातामै दुर्घटनामा उल्लेख्य कमी आएको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीको वेबसाइटअनुसार मंसिर १ देखि १५ गतेसम्ममा १ सय ९९ वटा सवारी दुर्घटना भएका थिए । तर पछिल्ला दुई सातामा ७४ वटा दुुर्घटना भएका छन् । हिरासतमा रात बिताउनुपर्ने भएपछि मदिरा सेवन गरेर सवारी चलाउने छाडापन घट्न थालेको छ । प्रहरीले सुरुको दिन मदिरा सेवन गरी सवारी हाँक्ने १ सय ७८ जना फेला परेका थिए । दोस्रो दिन १ सय ५०, तेस्रो दिन ४२ जना फेला परेका थिए । ट्राफिक प्रहरीका अनुसार सुरुवाती दिनमा पक्राउ पर्नेमा डाक्टर, इन्जिनियर, बैंकरलगायतका पेसाकर्मी थिए । कतिपयले त टाइसुटमै चिसो छिडीमा रात बिताएका थिए । ुपछिल्ला दिनमा यस्ता लब्धप्रतिष्ठित पक्राउ पर्न छाडेका छन्,ु राईले भने, ुयसको मतलब उच्चवर्ग मदिरा सेवन गरेपछि सवारी हाँक्न डराउन थालेका छन् ।ु कतिपयले सवारी चालक राख्न थालेको उनी बताउँछन् । कारबाहीलाई आममानिसले रुचाएकाले प्रहरी पनि उत्साहित छ । मापसेलाई लिन आएका कतिपय अभिभावक, श्रीमतीले अब सुध्रिन्छ भन्दै प्रहरीलाई स्याबासी दिने गरेका छन् ।
कारबाहीमा परेका मापसेले गल्ती स्विकारे पनि प्रहरीले दुव्र्यवहार गरेको, हत्कडी लगाएको, गम्भीर अपराधका अभियुक्तसँगै राखेको गुनासो पोख्ने गरेका छन् । मेडिकल जाँचका लागि हत्कडी लगाएर लगेकामा धेरैले आपत्ति जनाउने गरेका छन् । सुकेधारामा शुक्रबार समातिएका अमित झा शौचालय जान र पानी पिउन समेत नदिएको गुुनासो गर्दै थिए ।



