नेपालमा सुनखानी !
३ पुस, काठमाडौं । ल्हासामा सुन छ कान मेरो बुच्चै भन्ने उखान बढी प्रचलित छ । तर खोजी गर्ने हो भने नेपालमै सुनखानी छ भन्ने कुरा कमैलाई मात्र पत्तो होला । त्रिशुली, बुढीगण्डकी, कालीगण्डकी लगातका नदी किनारमा सुन खोज्नेहरु त अहिले पनि भेटिन्छन् । तर, बालुवाको धुलोबाट सुनको कण खोज्ने काम घना जंगलमा हराएको बाख्रा खोज्नुभन्दा कम चुनौतिपूर्ण छैन । सजिलो भएको भए त भाउले आकाश छोएको बेला सबै सुन खोज्न नदी किनारमा पुग्थे होला । खोलाको माछा समात्न छाडेर सबै बगरमै सुनको खोजीमा तँछाडमछाड गर्थे होला ।
पाइन्छ, तर मेहनत छैन
भूगर्भ विभागले सुनको खोजी गर्न भनेर २४ वटा कम्पनीलाई अनुमति दिएको छ । यीमध्ये १९ वटा कम्पनी दर्ता पनि भएका छन् । तर, कसैले पनि प्रभावकारी काम गर्न नसकेको विभागको भनाई छ । त्रिशुली र गण्डकीका केही ठाउँमा भन्दा रोल्पाको गाम, जेलवाङ, जैमाकसला लगायत ठाउँका खोलामा सुन बढी पाईने अनुमान छ । अलि-अलि सुनका कण जम्मा गर्दै आएका स्थानीयलाई सुनको खानी नै छ कि छैन भन्ने यकिन थाहा चाहिं छैन । रोल्पाको लुंग्री, खोला र आसपासका क्षेत्रमा खानी तथा भूगर्भ विभागले पनि सुनको बारेमा अन्वेशण त गरिरहेको छ ।