सरकारले माग पूरा नगरेको भन्दै कांग्रेसले आह्वान गरेको एक दिने बन्दले देशभरको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण पौडेलको गृह जिल्ला चितवन बढी प्रभावित बनेको छ ।
त्यहाँ ६ वटा गाडीमा आगजनी गरेकहो खबर छ । तेस्रो दिनसम्म बन्द हुँदा त्यहाँको जनजीवन निक्कै कष्टकर बनेको छ । आज पनि बिहानैदेखि कांग्रेस कार्यकर्ताले नारायणगढको पुल्चोक, भरतपुरको चौविसकोठी, बस टर्मिनल, रत्ननगरको टाँडीलगायतका मुख्य बजारमा प्रदर्शन गरेका छन् । सम्भावित झडपलाई ध्यान दिई चितवनको सुरक्षा सतर्कता बढाइएको छ ।
बन्दकै क्रममा गोरखाको बिसौनी चोकमा क्षेपेटार सडक आयोजनाको गाडी तोडफोड गरिएको छ भने मालपोत कार्यालयभित्रै पसेर तोडफोड गरिएको छ । यसैबीच जिविस चोकमा प्रहरीको गाडी चढेर जिल्ला कार्यालयतर्फ जाँदै गरेका प्रमुख जिल्ला अधिकारी कमल भट्टराईमाथि हातपातको प्रयाससमेत भएको छ ।
उता, हेटौंडाको मल्टिनेशनल युनिलिभर कम्पनीमा पनि तोडफोड गरिएको छ । बन्दको कारण नवलपरासी, बुटवल, स्याङजा, नुवाकोट, धादिङ, पोखरा, सुनसरी, बिराटनगर, दोलखा, ताप्लेजुङलगायत हिमालपारीको जिल्ला मनाङ समेत प्रभावित बनेको छ । बन्दकर्ताले ठाँउ ठांउमा टायर बालेर प्रदर्शन गरिरहेका कारण पूर्व पश्चिम राजार्गमा अत्यावश्यक सवारी साधन बाहेक अरु संचालनमा आएका छैनन् ।