मसालद्धारा अनुचित प्रकारले लिएको लडाकुको भत्ता फिर्ता गर्न माग

काठमाडौ – नेकपा (मसाल) ले माओवादीका लडाकुको वर्गीकरणमा करिब दुई हजार ५०० जति लडाकु उपस्थित नभए पनि उनीहरुको नाममा तलबभत्ता बुझ्ने गरेको पाइएको सम्बन्धमा उच्चस्तरीय छानबिन गर्न माग गरेको छ ।

मसालको हालै सम्पन्न तीनदिने केन्द्रीय समितिको बैठकले सो माग गरेको हो । बैठकपछि महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा अनुचित प्रकारले लिएखाएको पैसा राज्य कोषमा फिर्ता गर्नुपर्ने माग गरिएको छ ।

बैठकले नेपाली सेनामा लडाकुको सामूहिक प्रवेश हुन नहुने, सङ्घीयता खारेज हुनुपर्ने, थपिएको समयमा नयाँ संविधान जारी हुनुपर्ने, स्थानीय निर्वाचन हुनुपर्ने र भारतसँगको बिपा सम्झौता फिर्ता हुनुपर्ने विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

महामन्त्री सिंहले वर्तमान सरकार झन्झन् भारतपरस्त भएको आरोप पनि लगाए ।