अव बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने माओवादी सीपी गजुरेलको धारणा


काठमाडौ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा सहमतिको सरकार गठन हुने दावी गरिरहेका बेला उनकै पार्टी माओवादीका सचिव सीपी गजुरेलले भने अव बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने बताएका छन् ।


रिपोर्टर्स क्लबले मंगलबार आयोजना गरेको कार्यक्रममा गजुरेलले एमाले र माओवादीले दुई दुई पटक सरकारको नेतृत्व गरिसकेको अवस्थामा दोस्रो ठूलो दल काँग्रेसले सरकारको नेतृत्व गर्न पाउनु स्वभाविक भएको धारणा राखे ।


उनले भट्टराई नेतृत्वको सरकारले सहमतिको सरकारको आकार लिन नसक्नेसमेत ठोकुवा गरे । ‘काँग्रेस र एमालेले बाबुरामजीको नेतृत्व नस्विकारेपछि यो सरकार कसरी राष्ट्रिय सरकार बन्न सक्छ ?’ उनको प्रश्न थियो ।


उनले माओवादीको नेतृत्वमा सहमतिको सरकार बन्ने अवस्थामा आफूहरुको विचार समूहको तर्फबाट महासचिव रामबहादुर थापा बादललाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरिने समेत स्पष्ट पारे ।


‘अध्यक्ष दाहाल र उपाध्यक्ष भट्टराई प्रधानमन्त्री भईसकेको र बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले चाहना नराखेकेकोले महासचिव बादलको दावी जायज छ’ उनले भने ।


काँग्रेसका केन्द्रीय सदस्य दिपकुमार उपाध्यायले प्रधानमन्त्री भट्टराईले तत्काल राजिनामा दिएर सहमतिको सरकार गठनकोलागि मार्ग प्रसस्त गर्नुपर्ने बताए ।


उनले सहमतिको सरकार गठन भए मात्रै शान्ति प्रक्रिया र संविधान निर्माणको काम सहज हुने दावी पनि गरे ।