वर्तमान सरकार मुलुककै इतिहासमा सबैभन्दा बढी भ्रष्ट भएको मधेसी फोरमको आरोप

वीरगन्ज – मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार मुलुककै इतिहासमा सबैभन्दा बढी भ्रष्ट भएको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब पर्साद्वारा मंगलबार आयोजित कार्यक्रममा उनले लडाकुको पैसा खानु, रकम निकासा गर्ने समयमा मन्त्रीले पैसा माग्नु, भ्रष्टहरु मन्त्रिमण्डलमा हावी हुनु र ठूलो मन्त्रिमण्डल बनाउनुजस्ता कारणले डा. बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम भइसकेको दाबी गरे ।

अध्यक्ष यादवले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने, सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गर्ने तथा आदिवासी, मधेसी जनजातिलगायतका विभेदमा परेका समुदायलाई राज्यको मूलधारमा ल्याई उनीहरुलाई समानता प्रदान गर्नेजस्ता चुनौतीहरु हाम्रो सामु रहेको उल्लेख गर्दै यी चुनौतीहरु पूरा गर्न वर्तमान सरकारबाट सम्भव नभएकाले राष्ट्रिय सरकार गठन हुनुपर्ने पनि बताए ।

वर्तमान सरकारले शान्ति प्रक्रियाको नाममा माओवादी छापामारलाई सेनामा जागिर खुवाउनेभन्दा अन्य कार्य गरेको नदेखिएको भन्दै उनले राष्ट्रिय सुरक्षा नीति निर्माण गरेर नेपाली सेनालाई समावेशी राष्ट्रिय सेनाको स्वरुप प्रदान गर्नुपर्ने बताए ।

अध्यक्ष यादवले राज्य पुनःसंरचना उच्चस्तरीय सुझाव आयोगका संयोजकले आफ्नो कार्य क्षेत्रभन्दा बाहिर गएर उत्तर दक्षिण हुने सङ्घ निर्माण हुने अभिव्यक्ति दिएर समस्यालाई अझ बल्झाउने र जटिल पार्ने कार्य गरेको बताउँदै यस्तो अभिव्यक्तिले समस्या समाधान हुनुभन्दा पनि झन् थपिँदै जाने दावी गरे ।