नयाँ संविधानमा ‘जनयुद्ध’ शब्द लेख्ने कि नलेख्ने भन्नेबारे दलहरुबीचको विवादमा एकीकृत नेकपा माओवादी आफ्नो अडान छाड्न तयार भएको विवाद समाधान उपसमितिका एकजना नेताले बताएका छन्।
ती नेताका अनुसार प्रस्तावनामा ‘जनयुद्ध’ शब्दको साटो सशस्त्र संघर्ष राख्न माओवादी तयार भएको छ।
तर उसले अलग्गै हुने व्याख्यात्मक टिप्पणीमा त्यसबारे खुलाइनु पर्ने अडान राखेको थियो।
ती विषय नखुलाएरै उनले भने, “झण्डै सहमति भइसकेको छ, प्राविधिक विषयबारे आ-आफ्नो पार्टीमा छलफल गर्नु पर्ने भएकाले मात्र निर्णय नभएको हो, सहमतिको विषय संवैधानिक समितिको बैठकपछि मात्र थाहा पाउनुहुन्छ।”
छलफलका विषयबारे संवैधानिक समितिले अनुमोदन नगर्दासम्म बाहिर नलग्ने नीति अनुसार त्यसबारे उनी लगायत कसैले प्रस्ट नखुलाएका हुन्।
उसबेला गैरमाओवादी दलहरु ‘जनयुद्ध’ शब्दलाई अलग्गै ब्याख्यामा समेटन करीब सहमत नै थिए।
त्यसैमा दलहरु फेरि राजी हुने कतिपयको विश्वास छ।
सभासद तथा अधिवक्ता अग्नी खरेलले भने, “पार्टीगत अडान त्याग्न नेताहरु लचिलो देखिएकाले तोकिएकै समयमा संविधान लेखिने आशा गर्न सकिन्छ।”
नयाँ संविधानका चौधवटा विवादित बुँदा बाँकी छन् जसमा आउँदो १० दिनभित्र सहमति जुटाइ सक्नु पर्ने समयसीमा तोकिएको छ।



