सोल , पुस ६ ( दक्षिण कोरियाका लागि नेपालका राजदूत कमलप्रसाद कोइरालाले राष्ट्रपति ली म्यङ बाकलाई सोमबार एक पत्र लेख्दै विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थान बारे कोरियाको पाठ्यपुस्तकहरुमा भएका भ्रमहरु सच्याइदिन आग्रह गरेका छन् ।
चार पृष्ठ लामो पत्रमा कोइरालाले शाक्यमुनि गौतम बुद्धको जन्म लुम्बिनीमा भएको र उक्त स्थान वर्तमान नेपालमा पर्दछ भन्दै १७ औं शताब्दीमा भारतमा साम्राज्य गरेका बेलायती लेखकहरुको गलत लिखतका कारण गौतमबुद्धको जन्मस्थल भारत उदृत हुन गएको स्पष्ट पारिएको छ ।
सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तात्कालिन महासचिब उत्थान्तको भ्रमण कोसेढुङगो भएको र वर्तमान महासचिव बान कि मुनले समेत बुद्धको जन्मस्थल लुम्बिनीको चौतर्फी बिकासमा चासो ब्यक्त गरिरहेको उल्लेख गर्दै राजदूत कोइरालाले बार्षिक ६० लाख पर्यटकहरुद्धारा अवलोकन गरिने बृटिश म्युजियमले समेत गत नोवेम्बर ७ बाट भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीलाई भनेर सुधार गरिसकेको तथ्य पनि राष्ट्रपति लीलाई स्मरण गराएका छन् ।
आफ्नो कार्यकालको अन्तिम घडीमा राष्ट्रपति लीलाई पत्र लेख्नुको कारण खुलाउदै राजदूत कोइरालाले गत कार्तिकमा कान्तिपुर दैनिकमा बुद्धबारे भ्रम सम्बन्धी समाचार पढेपछि नै आफुले यस्तो सोचाई बनाएको बताए । कोईरालाले राष्ट्रपति लीबाट यसको सुनुवाई हुने विश्वास पनि ब्यक्त गरेका छन् । कोइरालाको कार्यकाल डिसेम्बर २८ मा समाप्त हुँदैछ ।
राजदूत कोईरालाले सो चार पृष्ठको पत्र एसियाली पत्रकार संघका संस्थापक तथा दि एसियनका प्रकाशक ली साङकीलाई पनि सम्प्रेषण गरेका छन् । पत्रकार ली ले राजदूतको यो कदम स्वागत योग्य रहेको बताउँदै कोरियाली सरकारबाट आवश्यक पहल हुन सक्ने बताए ।
दक्षिण कोरियाको निम्न माध्मिक विध्यालयको ुइथिक्स पार्ट वनु नामक पुस्तकको पृष्ठ ७७ मा भारतको खापिला क्यास्टलमा गौतम बुद्धको जन्म भएको उल्लेख छ । त्यस्तै माध्यमिक स्तरको पाठ्यक्रम ुवल्र्ड हिस्टोरीु पुस्तकको पेज ४३ देखि ४६ सम्म विभिन्न धर्महरुको ब्याख्या गर्दै गौतम बुद्ध ब्राम्हण परिवारको राजकुमार थिए भन्ने उल्लेख छ भने उनको जन्मस्थल बारे दिइएको नक्सामा भारत देखाइएको छ । यसका साथै बुद्ध धर्मसंग सम्बन्धित पुस्तकहरुमा पनि बुद्धको जन्मस्थान बारे भ्रमहरु रहेका छन् ।
कोईकाका अध्यक्ष पार्क थे वनले दुई हप्ताअघि मात्र बुसानको एक कार्यक्रममा भाग लिन आएका अर्थमन्त्री बर्षमान पुनलाई लुम्बिनीको विकासमा सहयोग गर्न राष्ट्रपति ली तयार रहेको वताएकै सन्दर्भमा पठाईको सो पत्रले भगवान बुद्धको जन्मस्थलबारे भ्रम हटाउन सक्ने अपेक्षा यहाँ कार्यरत संघसंस्थाहरुले गरेका छन् ।



