दैनिक १० घण्टा लोडसेडिङ थोपरिएको दुई दिन नकट्दै सरकारले नागरिकलाई विद्युत महशुल वृद्धिको उपहार पस्केको छ । लोडसेडिङले आक्रान्त बनेका जनताले अब यही बिजुलीका लागि पनि बढी मूल्य तिर्नुपर्ने भएको छ ।
सरकारले अब विद्युतको मूल्य पनि बढाउने भएको हो । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले विद्युत महशुल निर्धारण आयोगलाई विजुलीको हालको महशुलमा २० प्रतिशतसम्म बढाउन सहमति दिनुभएको हो । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज सरोकारवालाहरुसँग उर्जा संकट समाधानबारे छलफल गर्दै प्रधानमन्त्रीले प्राधिकरणलाई जोगाउन भन्दै मूल्य बढाउन सहमति दिनुभएको हो ।
छलफलमा सहभागीहरुले १० बर्षदेखि मूल्य समायोजन हुन नसक्दा प्राधिकरणको घाटा बढेर २७ अर्ब पुगेको तर्क गरेका थिए । मूल्यवृद्धीसँगै प्राधिकरणको व्यवस्थापनमा सुधार गर्नपनि प्रधानमन्त्रीले प्राधीकरणको ध्यानाकर्षण गराउनुभएको छ । माघ महिनादेखि नै लागूहुने गरी मूल्यबृद्धि हुने बताइएको छ ।