अत्यधिक चिसोले कठ्यांग्रिएर पूर्वी तथा मध्य तराईमा तीन दिन यता १७ जनाको मृत्यु

काठमाडौ – अत्यधिक चिसोले कठ्यांग्रिएर पूर्वी तथा मध्य तराईमा तीन दिन यता १७ जनाको मृत्यु भएको छ ।

 

सिरहामा ६, महोत्तरीमा ४, बारामा २ र सप्तरीमा ५ जनाको मृत्यु भएको हो । सिरहामा बुधबार मात्रै ३ जनाको निधन भएको छ । सरहा नगरपालिका- २ का ७० वर्षीया बौधीदेवी यादव, बिष्णुपुरकट्टी ५ का ७२ बर्षीय जनकलाल यादव, हकपारा ७ को ६० वर्षीया सुहाग देवी यादबको मृत्यु भएको परिवारजनले बताए ।

 

त्यस्तै,सिरहा चन्द्रलालपुर ८ का ८० वर्षीय अर्जुन यादवको मंगलवार राति मृत्यु भएको छ । यस्तै, लहान नगरपालिका ६ का ६० वर्षीय हरिशरण राम र सोही ठाउ बस्ने ५५ वर्षीय जामुन सहनीको मृत्यु भएको हो । दलित तथा विपन्न परिवारका उनीहरुलाई जीउभरि लगाउने लुगा नभएकोले चिसोका कारण कठ्यांग्रएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक जय सापकोटाले बताए ।

 

महोत्तरीका विभिन्न गाउँमा चार जनाको मृत्यु भएको हो । जनस्वास्थ्य अधिकृत विजयकुमार झाका अनुसार कठ्यांग्रिएर नैनही ४ का रामनारायण पाण्डे, मनरा ४ की बनारसी देवी, बथनाहा ६ का पप्पु झा र सिसवा कटैया ६ का विजन यादवको मृत्यु भएको हो ।

 

बारामा कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको छ । करैया ३ की ३८ वर्षीया कुन्तीदेवी महरा र मनहर्वाकी ८० वर्षीय वेदमाया सापकोटाको जाडोले कठ्यांगि्रएर मृत्यु भएको स्थानीय विरोध शर्माले बताए । कपडा अभावमा उनीहरूको मृत्यु भएको हो ।

 

सातादेखि फैलेको शीतलहरले यहाँको जनजीवन प्रभावित छ । राजमार्ग र सार्वजनिक स्थलमा स्थानीयको चहलपहल पातलिएको छ । यसैगरी राजविराजमा केही दिनदेखि बढेको चिसोले जनजीवन प्रभावित भएको छ । चिसोकै कारण केही दिनयता ५ जनाको मृत्यु भएको सगरमाथा अञ्चल अस्पतालले दाबी गरेको छ । चिसोको प्रभावले बालबालिका र वृद्धवृद्धा बिरामी भएका छन् । अस्पतालमा यस्ता बिरामी भर्ना हुने क्रम बढेको छ । यसबाहेक स्वास्थ्य चौकीमा बिरामी बढेका छन् ।चिसोका कारण जिल्लाका गरीव दलित परिवारहरुका अधिकांश सदस्यहरुमा झाडापखाला, निमोनिया, रुघाखोकी लागेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख दयाशंकर लाल कर्णले बताए ।

 

– कान्तिपुर