काठमाडौ – संयुक्त राष्ट्रसंघले हरेक वर्षको अक्टोबर ११ लाई ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाउने घोषणा गरेको छ । विश्वभरका धेरै बालिका र युवा महिलाले यस्तै खाले दिवस घोषणा गर्न राष्ट्रसंघसँग आग्रह गरेका थिए ।
राष्ट्रसंघको घोषणाप्रति विश्वव्यापी बालबालिकाको संगठन ‘प्लान’ ले खुसी व्यक्त गरेको छ । विकासशील देशहरूमा बालिकाले सामना गर्नुपरेका चुनौती र मुद्दाहरूलाई महत्त्व दिन प्लानले उक्त दिवसलाई ‘म बालिका भएकीले’ भन्ने आफ्नो अभियानको सफलता ठानेको छ ।
‘कतिपय देशहरूमा विद्यालयदेखि कामसम्म जीवनका हरेक क्षेत्रमा बालिकाहरू पछाडि पारिएका छन्,’ प्लान इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत नाइजेल च्यापम्यानले भनेका छन्, ‘सबैभन्दा दुःखलाग्दो कुरा त कतिपय बालिकालाई जन्मनै दिइएको छैन ।’
‘महिलाको सशक्तीकरण बालिकाको सशक्तीकरणबाटै सुरु हुन्छ, लैंगिक विभेदको चक्र तोड्न हामीले बालिकाका अधिकारहरू प्रवर्द्धन र संरक्षण गर्नुपर्छ,’ प्लानको ‘म बालिका भएकीले’ अभियानकी निर्देशक दीपाली सूदले भनिन्, ‘हामीले उनीहरूलाई जीवन रूपान्तरण गर्न आवश्यक सीप र अवसरहरू पनि उपलब्ध गराउनुपर्छ ।’



