ब्यवस्थापिका संसद हंगामा: मधेसी फोरम (लोकतान्त्रिक)का सभासद् सञ्जयकुमार साहले संसद्को माइक भाँचे

काठमाडौं  – मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का सभासद् एवं पूर्वराज्यमन्त्री सञ्जयकुमार साहले संसद्को माइक भाँचेका छन् ।

आफूलाई सभामुख सुवासचन्द्र नेम्वाङले बोल्न समय नदिएको भन्दै उनले तीनवटा माइक भाँचेका हुन् । कालिकोटमा दलित हत्याको विरोधमा दलित सभासद्हरुको अवरोधका कारण संसद् स्थगित भएपछि उनले बोल्न समय मागेका थिए । सभामुख नेम्वाङले संसद् स्थगित भइसकेको जानकारी गराउँदै बाहिरिएपछि उनले माइक भाँचेका हुन् ।

धनुषा क्षेत्र नम्वर ४ बाट प्रत्यक्ष निर्वाचित सभासद् साहले आफू भौतिक योजना तथा निर्माण राज्यमन्त्री भएकैबेला फोरम लोकतान्त्रिकबाट विद्रोहको घोषणा गरेका थिए । आफू अध्यक्ष रहेको मधेस क्रान्ति फोरम घोषणा गरे पनि उक्त संगठन अस्तित्वमा छैन ।