सुरक्षा सम्वेदनशीलतालाई दृष्टिगत गरी काठमाडौँका केही क्षेत्रहरूलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं  – जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाको सुरक्षा सम्वेदनशीलतालाई दृष्टिगत गरी काठमाडौँका केही क्षेत्रहरूलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

पुस ८ गतेदेखि लागु हुने गरी जारी गरिएको सो निषेधाज्ञाअनुसार अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रपतिको कार्यालय कम्पाउण्डको प्रवेशद्वारको उत्तर दक्षिण ५० मिटरसम्म, उपराष्ट्रपतिको कार्यालय अगाडि कम्पाउण्ड क्षेत्र, प्रधानमन्त्रीको निवास क्षेत्र बालुवाटारलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यसैगरी, भद्रकाली मन्दिर रिपुमर्दन पेट्रोल पम्प अगाडिसम्म, माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानथानसम्म, संविधानसभा भवनको पश्चिम गेटबाट नयाँ बानेश्वर चोकसम्म, माइतीघर मण्डलादेखि पद्मोदय स्कुल मोडसम्म निषेधित क्षेत्र घोषित गरिएको प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेद्वारा जारी सूचनामा सो कुरा जनाइएको छ । रासस