संसद भवनभित्रै बोल्न नपाएको भन्दै माइक तोडफोड गर्ने फोरम लोकतान्त्रिकका सभासदलाई दश दिनका लागि निलम्बन, क्षतिको भरपाई तलबबाट काटिने

– माधव ढुङ्गेल, नागरिक

 

काठमाडौं – संसद भवनभित्रै तोडफोड गर्ने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् सञ्जय साहलाई दश दिनका लागि निलम्बन गरिएको छ। बोल्न नपाएको भन्दै माइक तोडफोड गरेपछि सभामुखले उनलाई निलम्बन गरेका हुन्। तोडफोडमा भएको क्षतिको भरपाई पनि उनको तलबबाट काटिने छ।

 

संसदका निमित्त महसचिव ठाकुर बरालले सूचना प्रकाशित गरी संविधान सभा नियमावलीको नियम ४६ वमोजिम १० दिनसम्म निलम्बन गरी प्राविधिकबाट क्षतिको मूल्यांकन गरी निजले पाउने पारिश्रमिकबाट कट्टागरी सो को जानकारी संसदीय दललाई दिन सभामुखले आदेश दिएको उल्लेख गरे।

उनलले आज संसद्‍मा तोडफोड गरेका छन्। उनले संसद्‍को ३ वटा माइक तोडफोड गरेका हुन्। संसद्‍को बैठक सकेर सभामुख बाहिरिँदै गर्दा उनी आक्रोसित भएर माइक भाँचेका थिए।

सभामुखसँग बोल्नका लागि उनले समय माग्दा हाउस अवरुद्ध भइरहेको बताउँदै सभामुखले बैठक स्थगित भएको जानकारी दिएपछि सभासद् साहले आफू अगाडिको माइक भाँचेका हुन्। त्यसपछि आफू बसेको लहरकै अन्य २ माइक पनि भाँच्दै तथानाम गली गर्दै उनी संसद् बाहिर निक्ले।

बैठकमा कालिकोटमा मङ्सिर २४ गते चुलो छोएको भन्दै हत्या गरिएका दलितबारे सरकारले जवाफ नदिएको भन्दै सबै पार्टीका दलित सभासद्, नेपाली कङ्ग्रेस, एमाले लगायतले संसद् अरुवद्ध गरेका थिए।

संसद्को अर्को बैठक आगामी १२ गते बस्नेछ।