८ पुस, रुपन्देही – चुल्हो छोएको निहुँमा कुटपिटपछि हत्या गरिएका कालिकोटका मानवीर विकका हत्यारालाई कारबाहीको माग गर्दै आज रुपन्देही जिल्ला बन्दको आहृवान गरिएको छ ।
दलित सम्वद्ध विभिन्न संघ संगठनले आहृवान गरेको बन्दका कारण बिहानैदेखि जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले जिल्लाका विभिन्न स्थानमा सडकमा टायर बालेर यातायात अवरुद्ध गरेका छन् । बन्दले बजार तथा पसल पनि ठप्प छन् ।
संविधानमा नेपाल छुवाछुतमुक्त राष्ट्र घोषित भइसक्दा पनि कथित उपल्लो जातिको चुल्हो छोएको निहुँमा हत्या गर्नेमाथि सरकारले कारबाहीको प्रक्रिया अघि बढाउन आनाकानी गरेकाले बन्द आहृवान गरेको उनीहरुले बताएका छन् ।
माओवादी, कांग्रेस र एमालेनिकट दलित सघ संगठनले संयुक्त सघर्ष समिति बनाएर त्यसमार्फत आन्दोलन थालेका हुन् । कालिकोटको जुविथा गाविस-३ का विकको कथित उपल्लो जातिको चुल्हो छोएको आरोपमा केही दिनअघि कुटपिट गरेर हत्या गरिएको थियो ।