विराटनगर – नेकपा एमाले स्थायी समिति सदस्य केपी ओलीलाई सभासद् बनाउने कुनै प्रस्ताव नभएको अध्यक्ष झलनाथ खनालले बताएका छन्।
शनिबार विराटनगर विमान स्थलमा संचारकर्मीसंग कुराकानी गर्दे खनालले पार्टीमा त्यस्तो प्रस्ताव आए छलफल हुन सक्ने बताए । आइतबार धरानमा आयोजना हुने संगठन सुदृढीकरण र अभियान कार्यक्रममा सहभागि हुन आएका खनालले शान्ति प्रक्रियालाई तार्कीक निष्कर्षमा पुर्याउन सर्वदलिय सरकारको आवश्यकता रहेको बताए ।
उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेलका साथ विराटनगर आएका खनाले एमाले रहेसम्म पार्टी एकता रहने बताएका छन् । वैचारीक राजनीतिक र भावनात्मक रुपमा एक भएर एमाले अगाडी बढ्ने उनले बताए । बाबुराम भट्टराईको सरकार काम चालाउ मात्र भएकाले मुलुकलाई निकास दिन सर्वदलिय सहमतिको सरकारको आवश्यकता रहेकोमा उनले जोड दिए ।
यता राजधानीमा शनिबार नै आयोजित कार्यक्रममा अध्यक्ष खनालले सरकारले राजीनामा दिए आफ्नो दल विकल्प दिन तयार रहेको बताएका छन् । शान्ति प्रक्रियामा ठोस प्रगति हुन नसकेको भन्दै राजीनामा दिन प्रधानमन्त्री बाबुराम भट्टराईलाई उनले आग्रह गरे । खनालले शान्ति र संविधान पूरा गर्ने प्रतिबद्धताअनुसार काम नभएपछि सरकारसँग कुर्सीमा बस्ने नैतिक अधिकार नभएको जिकिर गरे ।
खनालले माओवादी इमान्दार नभएकाले समयमै संविधान बन्ने छाँट नदेखिएको बताउँदै त्यसको अपजस लिन माओवादी तयार हुनुपर्ने बताए । उनले धेरै आशाका साथ जनताले माओवादीलाई चुनाव जिताए पनि उप्रतिको जनविश्वास घट्दै गएको दाबी गरे ।



