कांग्रेसले चाहे बाबुराम भट्टराई नेतृत्वको सरकार एक दिन पनि नटिक्ने कांग्रेस केन्द्रीय सदस्य गगन थापाको दाबी

– टिका भट्ट

 

कठजोर, रामेछाप  – नेपाली कांग्रेस केन्द्रीय सदस्य गगन थापाले कांग्रेसले चाहे बाबुराम भट्टराई नेतृत्वको सरकार एक दिन पनि नटिक्ने दाबी गरेका छन् ।

‘कांग्रेसले चाहने हो भने २४ घण्टा पनि यो सरकार रहँदैन,’ कांग्रेस रामेछाप क्षेत्र नम्वर १ को अधिवेशन उदघाटनमा शनिबार उनले भने । द्विविधापूर्ण माओवादी र अवसरवादी मधेसवादी गठबन्धले मुलुकलाई नै अल्मल्याएको उनले बताए ।

थापाले माओवादीले केही गर्छ भन्ने भ्रम त्याग्न आग्रह गरे । उनले भने, ‘मार्क्सवादी, माओवाद र लेनिनवादले केही गर्छ भन्ने भ्रम फाल्न जरुरी छ ।’ माओवादीले नयाँ संविधानमा अधिकारसम्पन्न राष्ट्रपतिको कल्पना गरेर राष्ट्रपतिलाई ‘हिटलर’ बनाउन चाहेको उनले आरोप लगाए ।

थापाले मुलुकको भविष्यप्रतिको चिन्ताले विगतमा टाउको काट्नेहरुसँगै बसेर संविधान वनाउने अभियानमा कांग्रेस लागेको वताए ।

कांग्रेस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले माओवादीमा संस्थागत भ्रष्टाचार चुलिएको आरोप लगाएका छन् ।

घिमिरेले आफूलाई राष्ट्रवादी दाबी गर्ने माओवादीले देशघाती विप्पा सम्झौता गरेको आरोप लगाए । घिमिरेले एक तानाशाहलाई फालेर अर्को तानाशाहलाई कांग्रेसले स्वीकार्न नसक्ने वताए । उनले माओवादीले अझै पनि सम्पत्ति कव्जा गरिरहेकोमा आपत्ति जनाए । ‘सम्पत्ति फिर्ताको विषय कांग्रेसले छोड्नेवाला छैन,’ घिमिरेले भने ।

केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले कांग्रेसको नेतृत्व बिना संविधान, शान्ति र विकास असम्भव भएको वताए । कांग्रेसको नेतृत्वमा रहेको सरकारले मुलुकमा थुप्रै विद्युतका परियोजना र सडक निर्माणका लागि अभियान चलाएको उनको दाबी थियो ।