अन्तर दलीय विवाद समाधान उपसमितिले सहमति गरिसकेका विषय पनि संवैधानिक समितिमा उल्टिन थालेपछि त्यसरी बैठक स्थगित गर्नुपरेको बताइएको छ।
खासगरी एकीकृत माओवादीमा देखिएको दुइ स्पष्ट धारले संविधान लेखन र शान्ति प्रक्रियामा प्रतिकुल असर परेको विपक्षीहरुको आरोप छ।
संविधानसभामा सबभन्दा ठूलो पार्टी एकीकृत माओवादीको सबभन्दा शक्तिशाली नेता भनेर चिनिँदै आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको विवाद समाधान उपसमितिले विगतका कृयाकलापप्रति पनि जिम्मेवार बनाउन कानुन, सम्पत्तिमाथिको अधिकार संविधानमा अंकित नगर्नेदेखि संविधानमा जनयुद्ध कतातिर लेख्ने लगायतका विषयमा सहमति बनाएको थियो।
तर उनकै दलका असन्तुष्ट पक्षधर नेताहरुले सहमतिको विरोधमा अड्डीका कारण संवैधानिक समितिले अनुमोदन गर्न नसकेपछि बैठक नै एक सातालाई स्थगित गरिएको छ।
माओवादीभित्रको अन्तर विरोधकै कारण दलहरुबीच पछिल्लो समय बनेका सहमतिहरु धरापमा परेको कांग्रेस नेता विमलेन्द्र निधिले बताए।
खरेल भन्छन्, “यहाँसम्म आइपुग्दा पनि आफुहरुले लिएको बाटो ठीक छैन कि भन्नेमा माओवादी नेताहरु स्पष्ट हुन नसक्दा यो समस्या आएको हो, उनीहरु स्पष्ट हुन नसकुन्जेल त्यस्तै भइरहनेछ।”
उपसमितिका सदस्य रामचन्द्र पौडेल आमाको निधन भएर आशोच बारिरहेका छन्, एमाले नेता माधव नेपाल आइतबारै विदेशतिर लागेका छन् भने माओवादी नेता प्रचण्डलाई उनकै पार्टीको केन्द्रीय समिति बैठक र असन्तुष्ट वैद्य पक्षधरहरुको समस्या किनारा लगाउन चुर्लुम्म डुब्नुपर्ने भएकाले विवाद समाधान उपसमितिको बैठक पनि तत्काल हुन संभव छैन।



