काठमाडौ, १३ पुष । माओवादीभित्रको अन्र्तद्धन्द्धले नयाँ मोड लिएको छ । बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले अध्यक्ष प्रचण्डको १० बुँदे राजनीतिक प्रस्तावको विरुद्ध असहमतिको प्रस्ताव दर्ता गरेर छलफल जारी रहेको बेला स्थायी समिति सदस्य एवम् मुख्य सचेतक देबप्रसाद गुरुङले नयाँ असहमतिको प्रस्ताव प्रस्तुत गरेका छन् ।
गुरुङको असहमतिको प्रस्तावमा संविधान निर्माणको क्रममा अध्यक्ष प्रचण्डले पार्टी नीति र निर्णय विपरित आत्मसमर्पण गर्दै सहमति गर्दै गएको आरोप लगाएका छन् । उनले संविधान निर्माणको क्रममा देखिएका विवादमा सहमति जुटाउन अध्यक्ष प्रचण्डको संयोजकत्वमा गठित उपसमितिमा अध्यक्षले पार्टी नीति , मुल्य मान्यता र भावना विपरित सहमति गर्दै गरेर आत्मसमर्पण गरेको दावी गरिएको छ ।
बैठकमा यसअघि पनि बैद्य समूहले पार्टीभित्र १३ बुँदे असहमति प्रस्तुत गरेको थियो । तर अध्यक्षले सो असहमतिलाई बेवास्ता गर्दै पुन राजनीतिक प्रस्ताव ल्याएपछि बैद्यले अर्को असहमति प्रस्ताव पनि दर्ता गराएका थिए । अध्यक्षको प्रस्तावको विरुद्ध तीन असहमति प्रस्ताव परेपछि अब माओवादीको बैठक अझै विवादित र लम्बिने अनुमान गरिएको छ ।
जारी बैठकमा केन्द्रीय सदस्यलाई तीन, पोलिटब्यूरो सदस्यलाई १० र स्थायी समिति सदस्यलाई १५ मिनेटको समय छुट्याईएको छ । बैठकमा अध्यक्षको प्रस्ताव र असहमतिको प्रस्तावमा छलफल जारी रहेकोले बैठक भोली पुन बस्ने गरि स्थगित गरिएको छ ।
आजको बैठकमा आफ्नो धारणा राख्दै महासचिव रामबहादुर थापा बादलले बर्तमान सरकारले विप्पा सम्झौताबाट सुरु गरेको राष्ट्रघात जारीरहेको र यसले मुलुकलाई बर्बाद पार्ने आशंका ब्यक्त गरे ।
उनले बर्तमान सरकारलाई तत्काल फिता बोलाउनु पर्ने भन्दै सरकार राष्ट्रियता र स्वाधिनता समाप्त गर्ने तिर लागेको आरोप लगाएका आज बोल्ने बैद्य पक्षधर अधिकांश नेतबाहरुले सरकार ईतिहासकै सबैभन्दा बढी भ्रष्ट, नलायक, काम नलाग्ने र राष्ट्रघाती भएको भन्दै तत्काल पार्टी सरकारबाट फिर्ता हुनु पर्ने जिकिर गरेका थिए ।