माओवादीका लडाकूको तलव-भत्ता, भरणपोषण र शिविर व्यवस्थापनका लागि झण्डै नौ अर्ब दश करोड रुपैयाँ निकासा भएको सरकारले बताएको छ । संसदको सार्वजानिक लेखा समितिमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयका अधिकारीहरुले २०६३ मंसिर यता नौ अर्ब दश करोड ७९ लाख रुपैयाँ माओवादी लडाकुका नाममा निकासा भएको जानकारी दिएका हुन । तर निकासा भएको रकम मध्ये आठ अर्ब २९ करोड पाँच लाख रुपैयाँ मात्रै खर्च भएको तथ्याङ्कले देखाएको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच भएको वार्ताका क्रममा माओवादी वार्ता टोली प्रमुख कृष्णबहादुर महरा मार्फत निकासा भएको ४६ करोड रुपैयाँको पेश्की पनि बेरुजु देखिएको छ । शान्ति मन्त्रालयका सचिव धुब्र शर्माका अनुसार लडाकुको भरणपोषणका लागि २ अर्ब ६५ करोड ५३ लाख बरावरको खर्च भएको छ ।
यस्तै लडाकूको भत्ताका लागि ५ अर्ब ९९ करोड २४ लाख निकासा भएको छ । समितिका सदस्यहरुले भने किर्ते हस्ताक्षर गरी नक्कली लडाकूको नाममा लिईएको रकमको हिसाव मागेका छन् । एमाले सभासद् रामजी प्रसाद शर्माले पुनर्बर्गिकरणका क्रममा भारतीय नागरिक समेत भेटिएको घटनावारे सरकारको धारणा माग गर्नुभयो ।
समितिले सेना समायोजना विशेष समितिका पदाधिकारीलाई हालसम्म भएका कार्यको विवरणको प्रतिवेदनसहित आगामी २४ गते उपस्थित हुन निर्देशन दिएको छ ।



