एमालेमा केपी शर्मा ओली तेस्रो बरियताको नेता

एमालेले स्थायी कमिटि सदस्य केपी शर्मा ओलीलाई तेस्रो बरियताको नेता तोकेको छ । आज बसेको स्थायी कमिटि बैठकले नेता केपी ओलीलाई तेस्रो बरियता दिन अध्यक्ष झलनाथ खनालले गरेको प्रस्ताव पारित गरेको हो ।

 

यसअघि ओली सचिवहरुपछि नवौ बरियतामा थिए । अब ओलीलाई तेस्रो बरियता दिने प्रस्ताव पोलिटब्युरो र केन्द्रीय समिति बैठकमा पेश गरिनेछ ।

नेता ओलीलाई सभासद् बनाउने कुरा भने अध्यक्षको प्रस्तावमा नरहेको नेताहरुले बैठकपछि जानकारी दिए । अध्यक्ष खनालद्वारा प्रस्तुत पार्टीलाई एकताबद्ध बनाउने सम्बन्धि १२ बूँदे प्रस्तावमा पार्टीलाई लोकतान्त्रिककरण गर्ने, जनताको वहुदलीय जनवादको जगमा वामपन्थी पार्टीहरुलाई एकताबद्ध गरेर पार्टीलाई सुदृढ बनाएर अघि बढ्ने लगायत पार्टीको सांगठनिक र वैचारिक एकतासँग सम्बन्धित कुराहरु छन् ।

 

त्यसैगरी राष्ट्रिय राजनीति, शान्ति प्रक्रिया र संविधान लेखनकोबारेमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने विषय पनि प्रस्तावमा समेटिएको छ ।