केन्द्रीय सदस्य र प्रभावशाली नेताहरूलाई जिल्लाका कार्यक्रममा प्रमुख अतिथि बनाएर खटाइएको छ । तर खटाइएका अधिकांश नेताहरू उत्साहित छैनन्, बरु बिलखबन्दमा छन् । भन्छन्, ‘पार्टीको शीर्ष नेतृत्व तहमा कलह चुलिएका बेला कार्यकर्तालाई मेलमिलापको भाषण कसरी सुनाउने ?’
पार्टीको अन्तरद्वन्द्वकै कारण कतिपय नेता जिल्ला जानसमेत हिच्किचाए । नजानेमध्येका एक केन्द्रीय सदस्यले भने, ‘पार्टीभित्र एकले अर्कोलाई श्री ३ देख्न थालेका छन् । नेताबीच राम्रोसँग बोलचालसमेत छैन । कार्यकर्तालाई मेलमिलापको अर्ति उपदेश कसरी दिने ?’
बारा जिल्ला जाँदै गरेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी अप्ठ्यारोकै बीच पनि मेलमिलापको विकल्प नरहेको बताउँछन् । ‘वास्तवमै पार्टीभित्रको समस्याले अप्ठ्यारो छ,’ उनले भने, ‘तर विचारको विविधता पार्टीभित्र र बाहिर संयोजन गर्नु जरुरी छ । यी दुइटै कुरालाई मेलमिलापको दिवसले नयाँ सन्देश दिन सक्नुपर्छ ।’
२०३३ पुस १६ मा बीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्केको सन्दर्भलाई कांग्रेसले दिवसको रूपमा मनाउँदै आएको हो ।
केन्द्रीय सदस्य नरहरि आचार्य पार्टीको शीर्ष तहमा मेलमिलाप बनाउन नसकेको अवस्थामा बाहिर निस्कन कठिन हुने स्वीकार्छन् । ‘०३३ सालमा पनि पार्टीहरूमाथि सशस्त्र रूपमा खनिएका राजासँग मेलमिलाप गर्न आएको हो, अहिले पनि सशस्त्र आन्दोलन गरेको पक्षसँग नै मेलमिलाप गरेर अघि बढिएको छ, त्यसैले यसको सान्दर्भिकता यथावत् छ,’ उनले भने, ‘तर पार्टीभित्र मेल नहुँदा मेलमिलापको आह्वान गर्न कठिन छ ।’
पार्टी सञ्चालनको विषयमा सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवा समूहबीच तीव्र मतभेद छ । भ्रातृसंस्था विघटनको मुद्दामा उब्जेको विवादले कोइराला र देउवाबीच बोलचालसमेत ठप्पको अवस्था छ । देउवा आफूसँगको परामर्शमा पार्टी सञ्चालन गर्नुपर्ने र कोइराला निर्वाचित सभापतिले निर्वाध काम गर्न पाउने अडानमा छन् ।
विवादकै कारण महाधिवेशनको दुई महिनाभित्र गठन हुनुपर्ने पार्टीका विभाग र समितिहरू १५ महिना बित्दासमेत बन्न सकेको छैन । आचार्य मुलुकमै मेलमिलापको आवश्यकता भएका बेला पार्टीभित्र हुन नसक्नु दुःखद रहेको बताउँछन् । ‘लोकतान्त्रिक संविधान बनाउन र शान्तिको पूर्णताका लागि पनि मेलमिलाप चाहिएको छ,’ उनले भने, ‘पार्टीभित्रको बेमेलले मेलमिलाप दिवस त्यति सुखद देखिएन ।’
तनहँु सदरमुकाम जाँदै गरेका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले नेताहरूबीच मिलापका लागि दबाब दिन कार्यकर्तालाई आग्रह गर्ने बताए । ‘नेताहरू झगडा गरे पनि कार्यकर्ता मिलेर अघि बढौं भन्नुको विकल्प छैन,’ उनले भने । उनले चाँडै पार्टीभित्रको विवाद मिल्ने आशा व्यक्त गरे ।
‘पार्टी नमिलाइकन कांग्रेसले सरकारको नेतृत्व पाउँदैन, त्यसैले पनि चाँडै एकता आवश्यक छ,’ देउवापक्षीय नेता श्रेष्ठले भने, ‘देउवाजी पनि सभापतिजीले मिलाउनुहुन्छ भन्नेमा आशावादी भएर बस्नुभएको छ । पेलेरै लैजानुहुन्छ भन्नेमा उहाँ पनि हुनुहुन्न ।’
केन्द्रीय सदस्य नवीन्द्रराज जोशी भने पार्टीभित्रको विवाद स्वाभाविक ठान्छन् । ‘मेलमिलाप भनेको लोकतन्त्र र राष्ट्रियताको सवालमा सबैसँग मिलेर अघि बढ्ने कुरा हो । पार्टीभित्र नेताहरूको झगडा भए पनि कार्यकर्ताहरूलाई एक ठाउँमा ल्याउनुपर्छ, म त्यसैका लागि आह्वान गर्छु,’ लमजुङ खटिएका जोशीले भने, ‘दुइटा पार्टी मिल्दा यस्तो विवाद भइहाल्छ ।’



