तराईमा सशस्त्र गतिविधीमा सक्रिय रहेको तराई मोर्चा पवन समूहद्धारा सरकारलाई हतियार हस्तान्तरण


 

– भूषण यादव

 

वीरगन्ज – विगत पाँच वर्षदेखि तराईमा सशस्त्र गतिविधीमा सक्रिय रहेको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा पवन समूहले सरकारलाई शनिबार हतियार हस्तान्तरण गरेको छ । बीरगन्जको होटल सुरजमा सरकारी वार्ता टोली संयोजक तथा शान्ति मन्त्री सत्या पहाडी र मोर्चाका संयोजक प्रल्हाद गिरी(पवन) बीच चार बुँदे सहमतीपछि मोर्चाले आफूसाग भएका आठ वटा घरेलु हतियार सरकारलाई बुझाएको हो । पूर्व सहमति अनसार मोर्चाका तर्फबाट शान्ति तथा पुननिर्माण मन्त्रालयमा बुझाइएको विवरण बमोजिमका नेता तथा कार्यकर्ताहरुलाई लागेको मुद्दा फिर्ता र थुनुवा बन्दीहरुको रिहाई सम्बन्धी प्रक्रिया सरकारले यथाशिघ्र प्रारम्भ गर्ने सहमति भएको छ ।

यसअघि भएका सहमति दुबै पक्षले कार्यान्वयन गर्ने सहमति पत्रमा प्रतिवद्धता व्यक्त गरिएको छ । वार्ता पछि आयोजित पत्रकार सम्मेलन शान्ति मन्त्री पहाडीले राजनीतिक ऐजन्डा बोकेका सशस्त्र समूहसग सरकार वार्ताका लागि सकारात्म रहेको बताइन् । उनले भननि्, ‘वार्ता प्रति सरकारले लचकता अपनाएको छ ।’

उनले सिद्यान्त र विचारको राजनीतिमा लाग्न सबैलाई वार्तामा आउन आह्वान समेत गरिन् । मोर्चाका अध्यक्ष पवनले विगतका सरकारको अकर्मण्यताका कारण वार्ता सफल नभएको बताए । फर्जी मुठभेडको नाममा सर्वसाधारणको हत्या रोक्न माग गरेका थिए । ‘मुलुकले द्धन्द्ध खेप्न अवस्था छैन्,’ उनले भने, ‘अन्य सशस्त्र समूह समेत वार्तामा आउनुपर्छ ।’ मधेश क्रान्तिको नाममा भुमिगत समूहले नौटंकी गरेको उनले आरोप लगाए । सशस्त्र समूहको नाममा अरुले चलखेल गरेको उनले दाबी गरे ।

सरकार र मोर्चाबीच यहाँ भएको दोश्रो चरणको वार्तामा करिब दुई घण्टा लामो छलफल र चार बुँदे सहमतीपछि मोर्चाले थ्री फिप्टीन पेस्तोल चारवटा र बाह्र बोरको पेस्तोल चारवटा हस्तान्तरण गरेको हो । चार बुँदे सहमति पत्रमा सरकारका तर्फबाट शान्ति मन्त्री सत्या पहाडी र मोर्चा संयोजक प्रल्हाद गिरी(पवनले) हस्ताक्षर गरेका छन् । राजनीतिक मुलधारमा आएको मोर्चा र सरकारवीच २०६८ साउन २८ गते पहिलो वार्ता सम्पन्न भएको थियो ।