काठमाडौं – काठमाडौंमा एमाले भ्रातृ संगठन युवा संघको चुनावमा गोली चलेको छ । काठमाडौं क्षेत्र नम्बर ७ मा भइराखेको युवासंघको चुनावमा अध्यक्ष पदका पराजित उम्मेदवार फुर्वा तामाङले ३ राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रहरी प्रमुख डिएसपी धीरजप्रताप सिंहका अनुसार चुनावमा अध्यक्ष पद अर्कैले जितेपछि तामाङले हवाई फायर गरेका हुन् । उनले चुनावमा हारेपछि सभाहलबाट बाहिर निस्किएर चाइनिज पेस्तोलले ३ राउन्ड गोली फायर गरेका थिए ।
त्यसपछि उनी सहित ८/९ जनाको समूह मोटरसाइकल चढेर फरार भएका थिए । उनले भने, ‘हवाई फायर गरिएका कारण कुनै मानवीय क्षति भएको छैन ।’ एमालेको क्षेत्र नम्बर ७ सोह्रखुट्टे, नयाँ बजार, सामाखुसी र बालाजु क्षेत्र पर्छ । त्यहाँ जोग गुरुङले अध्यक्ष पद जितेका थिए ।



