प्रधानमन्त्री भट्टराईद्धारा अङ्ग्रेजी नयाँ वर्ष २०१२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना व्यक्त


 

काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईले अङ्ग्रेजी नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। उनको शुभकामना सन्देशमा विगतका समयले छाडेका प्रभाव तथा त्यसले दिएका अनुभवबाट शिक्षा लिई आ-आफ्नो कर्तव्यपथमा अगाडि बढ्नु नै गन्तव्यसम्म पुग्ने उत्तम उपाय हो- भनिएको छ।

प्रधानमन्त्री भट्टराईले नयाँ वर्ष २०१२ ले आपसी सद्‍भाव, एकता तथा अग्रगामी चिन्तनको विकास एवं आर्थिक समृद्धिको माध्यमबाट समुन्नत र समृद्ध नेपाल निर्माणमा समर्पित हुन हामी सबैलाई प्रेरणा मिल्नेछ भनेका छन्।

उनले यतिबेला हामी नयाँ संविधान निर्माण र दीगो शान्ति कायम गरी समृद्ध नेपाल निर्माणमा जुटेको उल्लेख गर्दै यसका निम्ति राजनीतिक दलहरुलगायत सबैका आ-आफ्ना दृष्टिकोण र प्राथमिकता रहेका भए पनि जनताको बृहत्तर हितलाई हामी सबैको एउटै केन्द्रविन्दु बनाउनु आजको आवश्यकता, चुनौती एवं अवसर पनि हो भनेका छन्।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता एवं पार्टी उपसभापति रामचन्द्र पौडेलले अङ्ग्रेजी नयाँ वर्षको उपलक्ष्यमा सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गरेका छन्।


उनको शुभकामना सन्देशमा आपसमा मित्रता, सद्‍भाव र मेलमिलाप बढाएर मुलुकसामु रहेको संविधान निर्माण एवं दीगो शान्ति स्थापना लगायतका कामहरु जनतालाई केन्द्रविन्दुमा राखेर समाधान गर्न प्रेरणा मिल्नेछ भन्ने विश्वास व्यक्त गरिएको छ। रासस