देशभर चिसो बढ्यो, जनजीवन प्रभावित

हिजोसम्म पारिलो घाम तापेका काठमाडौंवासीले आज ह्वात्तै चिसोको अनुभूति गरेका छन् । पुसको मध्यसम्म पनि दिनभर घाम लाग्दा विहानी तुसारो र घटेको तापक्रमबाट खासै प्रभावित नभएका काठमाडौंका बासिन्दाले आज भने राम्रै चिसो अनुभव गरेका छन् ।

 

विहानैदेखि आकाश बादलले डम्म ढाक्दा घाम देख्न मुश्किल परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार रातिदेखि नै राजधानीसहित देशभर तापक्रम घटेको छ । हिमाल छोएर आउने पश्चिम वायुको प्रभावका कारण सुरु भएको चिसो अझै केही दिन रहने मौसमविदहरुले बताएका छन् । राजधानीसहित केही पहाडी क्षेत्रमा पानीसमेत पर्न सक्ने र उच्च पहाडी क्षेत्रमा हिमपात पनि हुने बताइएको छ । केही दिनअघि भारतमा देखिएको आँधीको प्रभाव नेपालमा पनि परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिमाली जिल्लाहरु मुगु, हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ, संखुवासभा, सोलुखुम्बु, दार्चुलालगायत क्षेत्रमा हिमपात सुरु भएको छ । पोखरा पश्चिम क्षेत्रमा पानी परेको छ । काठमाडौंमै पनि हल्का पानी पर्न सक्ने मौसम विभागले जनाएको छ । अघिल्ला वर्र्षहरुमा डिसेम्बरमा औसत १५ मिलिमिटर पानी पर्ने गरेपनि यस वर्ष पानी परेन । तर जनवरीको सुरुवातमै यो लक्षण देखिएको छ ।

 

उता हिमपातका कारण मुस्ताङको जनजीवन प्रभावित भएको छ । माथिल्लो मुस्ताङको मुक्तिनाथ, लोमाङथाङ लगायत आधा दर्जन भन्दा बढि गाविसमा बाक्लो हिमपात भएपछि जनजीवन कष्टकर बनेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद पाण्डेले जानकारी दिनुभयो हिमपातसंगै तुवांलो लागेपछि अग्नी एयरको हवाई जहाज जोमसोम विमानस्थलमा अवतरण हुन नसकेपछि पोखरा नै फर्किएको छ । अन्य उडानहरु पनि बन्द गरिएका छन् ।

 

पर्वत, बागलुङ र म्याग्दीमा पनि अत्याधिक चिसो बढेको छ । बिहानैदेखि पानी परेकाले चिसो बढेको हाम्रा संवाददाताले जनाएका छन् ।