वर्षौंदेखि विभिन्न शिविरमा बस्दै आएका माओवादी लडाकुलाई एकहप्तापछि शिविरबाट विदाइ गरिने

– वर्षौंदेखि विभिन्न शिविरमा बस्दै आएका माओवादी लडाकुलाई विदा गर्ने कार्यक्रम लडाकु व्यवस्थापन विशेष समितिले पारित गरेको छ।

 

प्रधानमन्त्री संयोजक रहेको लडाकु व्यवस्थापन विशेष समितिले विभिन्न शिविरमा बस्दै आएका लडाकुलाई शिविरबाट विदा गर्ने कार्यतालिका पारित गरेको छ।

विदाइको काम एकसाता पछि शुरु गरी बाह्र दिनभित्र पुरा गर्ने विशेष समिति सदस्यहरुले बताएका छन्।


स्वेच्छिक अवकासमा जानेहरु आ आफ्ना घर फर्कने, पुनस्थापना रोज्नेलाई त्यतै लगाउने र समायोजनमा जानेलाई सेना अन्तर्गत पुर्‍याउने प्रक्रिया तत्काल शुरु गर्ने निर्णय पनि आइतबारको बैठकबाट गरिएको छ।


झण्डै एक महिना अघि लडाकुको पुनर्वगिकरण सकिए पछि विशेष समिति अन्तर्गतको सचिवालयले शिविरबाट लडाकु विदा गर्ने बाह्र दिने कार्यतालिका तयार पारेको थियो।


तर प्रक्रिया तत्काल शुरु गर्न माओवादी तयार नभएपछि अडकिएको काम अब सुचारु हुने आशा विपक्षीहरुले राखेका छन्।


विशेष समिति सदस्य तथा एमाले नेता भीम रावल भन्छन्, “हामीले बाह्र दिने कार्ययोजना पनि पारित गरेका छौं त्यसै बमोजिम लडाकुहरु विदा गर्ने काम शुरु गरिनेछ।”


समायोजनमा जानेहरुका लागि सेनासँग कुराकानी गरिने बताइएको छ।


रावल भन्छन्, “प्रधानमन्त्री मार्फत समायोजनको काम शुरु गर्न सेनासँग हामी पनि कुराकानी गर्छौं।”


सात हजार चानचुन लडाकुले स्वेच्छिक अवकास रोजेका र नौ हजार सात सय जतिले समायोजन रोजेको तथ्यांक पुनर्वर्गिकरणपछि सार्वजनिक गरिएको थियो।

 

प्रमुख दलहरुबीच ६ हजार ५ सयलाई सुरक्षा निकायमा समायोजन गर्ने सहमति बनिसकेको छ।

आइतबारको बैठकमा प्रधानमन्त्रीले शान्तिप्रक्रियाप्रति पुन प्रतिबद्धता प्रकट गरेको रावलले बताए।