सरकारले काठमाडौंको शहीदगेटमा रहेको स्वर्गीय राजा त्रिभुवनको शालिक हटाउने निर्णय


 

सरकारले काठमाडौंको शहीदगेटमा रहेको स्वर्गीय राजा त्रिभुवनको शालिक हटाउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले शहीद गेटमा चार शहीदसंगै रहेको राजा त्रिभुवनको शालिक हटाउने निर्णय गरेको हो । एक सय चार बर्षे जहानियाँ राणा शासन विरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा आन्दोलन चर्किंदै गएको बेला राजा त्रिभुवनले पनि राणा शासकहरु विरुद्ध विद्रोह गर्दै भारत पुग्नु भएको थियो ।

राष्ट्र प्रमुखबाटै विद्रोह भएपछि राणा शासकहरु घुँडा टेक्न बाध्य भएका थिए भने नेपालमा प्रजातन्त्रको घाम झुल्किएको थियो । राणा शासन विरुद्ध हाँसीहाँसी ज्यान दिएका महान शहीदहरु धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द र प्रजातन्त्रका लागि जनतासंग हात मिलाएका राजा त्रिभुवनको शालिक शहीदमा एकै स्थानमा राखिएको छ । तर बाबुराम भट्टराइको सरकारले कुनै कारणै नखुलाई त्रिभुवनको शालिक त्यहाँबाट हटाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवनको शालिक शहीद गेटबाट हटाएर नारायणहिटी दरबार संग्राहलयभित्र स्थानान्तरण गर्ने निर्णय भएको जानकारी दिनुभयो । बाबुराम भट्टराइ प्रधानमन्त्री नियुक्त भएपछि शहीद गेटमा गई शहीदहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्नुको सट्टा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको शालिकमा पुग्नु भएको थियो ।


यसैगरी आजको मन्त्रीपरिषद बैठकले यही चैत्र २३ र २४ गते काठमाडौंमा हुने जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि वातावरण मन्त्रीको संयोजकत्वमा १३ सदस्यीय निर्देशन समिती गठन गरेको छ भने नेपाल खानेपानी संस्थानका महाप्रबन्धक धर्मदेव बजिमयलाई हटाएर रामकुमार यादवलाई कामु महाप्रबन्धकमा नियुक्त गरेको छ ।