
माओवादी केन्द्रीय समितिको जारी बैठकमा उपाध्यक्ष मोहन बैद्य पक्षको चर्को दवावपछि अध्यक्ष पुष्पकमल दाहालले दुबै प्रतिवेदनलाई समेटेर एउटै प्रतिबेदन बनाउने तयारी थाल्नु भएको छ । अध्यक्ष दाहालको प्रतिवेदनमा असहमती जनाउँदै उपाध्यक्ष बैद्यले फरक मत प्रस्ताव पेश गरेपछि दाहालले दुवै प्रस्तावलाई मिलाएर एउटै प्रतिवेदन तयार गर्ने तयारी थाल्नु भएको हो । आजको बैठकपछि दाहाल निकट नेता हरिबोल गजुरेलले मुल मुद्दामा कुरा मिलेकोले दुई नेताबीच एउटै प्रतिवेदन बनाउनेबारे छलफल भइरहेको जानकारी दिनुभयो । हाललाई विवादित विषयलाई थाती राखेर महाधिबेशनमा लेजाने गरी सहमति खोज्ने पहल भइरहेको उहाँको भनाई छ ।
बैद्य पक्षका नेताहरुले भने अध्यक्ष दाहालले २०४७ सालको जस्तो संविधान बनाउन लागिरहेको आरोप लगाएका छन । केन्द्रीय समितिको जारी बैठकमा बैद्य पक्षिय नेताहरुले अध्यक्ष दाहालले पुरानै संविधानलाई निरन्तरता दिने प्रयास गरिरहेको आरोप लगाएका हुन् । बैठकपछि बैद्य निकट नेतृ जयपुरी घर्तीले अध्यक्ष दाहालले अरुको प्रभावमा परेर जथाभावी सम्झौता गरिरहेको आरोप लगाउनुभयो ।
माओवादी केन्द्रीय समिति बैठक भोलि पनि बस्नेछ ।



